काठमाडाैँ । सांसदहरुले नेपालमा उत्पादन गर्नसक्ने सम्भावना भएका कृषिजन्य वस्तुहरुको भन्सार बढाउनुपर्ने बताएका छन् ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा भन्सार ऐनका विषयमा कृषिकसँग भएको छलफलमा सांसदहरुले नेपालमा उत्पादन हुने कृषिजन्य वस्तुहरु पनि भारतबाट आयात भइरहेकाले त्यो रोक्नको लागि भन्सार वृद्धि गर्न आवश्यक रहेको बताएका हुन् ।
सांसदहरुले कृषिजन्य बस्तुको भन्सार वृद्धि गरी गैरभन्सारमार्फत नेपाल भित्रिन नदिनको लागि सुरक्षा व्यवस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
समिति बैठकमा नेपाली काँग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले कृषिमा आत्मनिर्भर हुनको लागि मुलुकको उत्पादन क्षमता बढाउन आवश्यक रहेको बताए । उत्पादन वृद्धि नभएसम्म लागत कम नहुने भन्दै आन्तरिक उत्पादनमा नेपाल प्रतिष्पर्धी नभएसम्म आन्तरिक उत्पादनमा सहुलियत र अनुदान दिनुपर्ने उनकाे भनाइ छ।
उनले सरकारले उत्पादन गर्नेलाई अनुदान दिनेगरी कृषि मन्त्रालयबाट कार्यविधि परिमार्जन गरिनुपर्नेमा जोड दिए । कृषि उत्पादनमा लागत कम नभएसम्म अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिष्पर्धा गर्न नसकिने अवस्था रहेको उनले बताए । कृषि अनुदानमा भएको दुरुपयोग रोक्न सदुयोग गरी लागत कम गर्न आवश्यक रहेको उनकाे भनाइ छ ।
नेकपा एमालेकी सांसद जुलीकुमारी महतोले नेपाली कृषकहरुले भन्सारमा भोगेका पीडाहरुलाई भन्सार ऐनमा समावेश गर्न जरुरी रहेको बताइन् । उनले सरकारले कृषिलाई जोड दिएपनि विभिन्न कारणले चुहावट भएको उल्लेख गरिन् । अब बन्ने भन्सार ऐन कृषकको हितमा बनाउने प्रतिवद्धता जनाइन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद छिरीङ डम्डुल लामाले पनि अर्थसमितिबाट भन्सार ऐन भन्दा किसान मार नीति नभएर किसान बचाउने नीति बन्नुपर्ने बताए । वास्तविक किसानका सुझावहरुलाई समेत समेटेर मात्रै किसानको हितका लागि नीति बनाउनुपर्ने उनकाे भनाइ छ ।
नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले पनि अर्थसमितिले नीतिगत डिपार्चरका निम्ति किसानमैत्री नीति बनाउनुपर्ने बताए । उनले समितिले कृषि क्षेत्रमा भन्सारमा पर्ने अफ्ठ्यारा नीतिहरुलाई तत्काल समाधान गर्न आवश्यक रहेको उल्लेख गरे ।
समितिमा किसानले नेपालमा उत्पादनहुने कृषिजन्य उत्पादनलाई प्रोत्साहन दिनेगरी भन्सार नीति बनाउन सुझाव दिएका छन् । उनीहरुले कृषि उत्पादनको स्रोत र समय अवधि हेरेर मात्रै नेपाल प्रवेश गराउनुपर्ने सुझाव दिए । —न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्