पाँच महिनामा आगलागीबाट १६ जनाको मृत्यु, १४५ जना घाइते


काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिर) सम्म देशभर १ हजार ११६ आगलागीका घटनामा १६ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जसमा ज्यान गुमाउनेमा ५ पुरुष, १० महिला र १ बालक रहेका छन् । त्यस्तै उक्त घटनामा १४५ जना घाइते भएका छन् जसमा ६९ पुरुष, ६८ महिला, ३ बालक र ५ बालिका रहेका छन्।

आगलागीका घटनाले भौतिक रूपमा पनि ठूलो क्षति पुर्याएको छ। १२० घर र १३० गोठ पूर्ण रूपमा जलेका छन्। साथै, १ सरकारी कार्यालय पनि आगलागीबाट ध्वस्त भएको छ। चौपायाको क्षतिमा ४५५ पशु चौपाया जलेका छन्। यी घटनाले करिब ४९ करोड ५० लाख २८ हजार ३३० रुपैयाँ बराबरको आर्थिक क्षति पुर्याएको छ।

क्षतिको हिसाबले कोशी प्रदेश सबैभन्दा प्रभावित देखिएको छ, जहाँ ३३१ आगलागीका घटना दर्ता भएका छन्। अन्य प्रदेशहरूमा पनि उल्लेख्य क्षति भएको छ, जसमध्ये बाग्मती प्रदेशमा ७०, गण्डकी प्रदेशमा ८१, लुम्बिनी प्रदेशमा ११४, कर्णाली प्रदेशमा ५१, मधेश प्रदेशमा २६९, र सुदूरपश्चिम प्रदेशमा ६० घटनाहरू भएका छन्।

आगलागी व्यवस्थापन गर्न ८ हजार ३२२ प्रहरी परिचालन गरिएको थियो। यद्यपि, आगलागीका कारण २९ परिवार विस्थापित भएका छन्।