चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्छः कुलमान घिसिङ


काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रोमोसन गर्नको लागि देशभर चार्जिङ स्टेशन बढाउनुपर्ने बताएका छन् ।

बिहीवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ वर्ष पुगेको अवसरमा आयोजित इप्पान इभी ¥यालीमा सहभागि हुँदै घिसिङले नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएको बताए । उनले निजी सवारी साधन मात्रै नभएर अहिले देशभर जाने यात्रुवाहक समेत विद्युतीय सवारी साधनमा परिणत भइरहेको उल्लेख गरे ।

यात्रुवाहक सवारी साधन समेत विद्युतीय वृद्धि हुँदै जानु भनेको ठूलो परिवर्तन भएको उनकाे भनाइ छ । उनले पछिल्लो समय विद्युतीय सवारी साधन नेपालभर वृद्धि भएको उल्लेख गरे । मुलुकभित्रै विद्युतको माग बढाउने प्राधिकरणको अभियान रहेको भन्दै इप्पानको इभी ¥यालीले अभियानलाई ठूलो सहयोग पुगेको उनले बताए ।

पछिल्लो समय ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिद विक्री भएको उनकाे भनाइ छ । उनले विद्युतीय सवारी साधनको प्रोमोशन विद्युतीय सवारी साधन किनेर मात्रै नहुने उल्लेख गरे । उनले देशभर विद्युतीय सवारी साधनको लागि आवश्यक संरचनाहरु बनाउन जरुरी रहेको बताए । घिसिङले विद्युतीय चार्जिङ स्टेशनहरु मुलुकभर बनाउन जरुरी रहेको बताएका छन् । सरकारले निजी क्षेत्रलाइ ठूलो सहुलियतसहित प्रोत्साहन गरेको भन्दै ६ सय बढी चार्जिङ स्टेशनहरु निजी क्षेत्रले मात्रै बनाएको उनले उल्लेख गरे ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालमा उत्पादित विद्युतलाई मुलुकभित्रै खपत गर्न आवश्यक रहेको बताए । उनले विद्युत उत्पादन वृद्धि भइरहेको भन्दै मुलुकभित्रै खपत बढाउन जरुरी रहेको उल्लेख गरे । सबैले विद्युतीय सवारी साधन चढ्ने वातावरण सरकारले बनाउनुपर्नेमा उनकाे जोड छ । 

उनले विद्युतीय सामग्रीहरुको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।