काठमाडाैँ । चालु आर्थिक वर्षको ६ महिनामा चार वटा मुख्य भन्सार कार्यालयहरूले ७५ प्रतिशत राजश्व संकलन गरेका छन् ।
सरकारले चालु आर्थिक वर्षको ६ महिनामा वीरगञ्ज,विराटनगर,मेची र तातोपानी भन्सार कार्यालयहरूले चालु आर्थिक वर्षको ६ महिनामा ७५ प्रतिशत राजश्व संकलन गरेका हुन् ।
चार भन्सार कार्यालयहरुले लक्ष्यअनुसार नै राजश्व संकलन गरेको बताएका छन् । समग्रमा सरकारले चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन गरेको छ । जसमा भारततर्फका वीरगञ्ज,विराटनगर,मेची भन्सार र चीन तर्फको तातोपानी भन्सारले लक्ष्यको ७५ प्रतिशत राजश्व संकलन गरेका छन् ।
सरकारले चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब राजश्व संकलन गत वर्षको तुलनामा ६३ अर्ब अर्थात १३ प्रतिशत वृद्धि गरेको छ । सरकारले गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ राजश्व संकलन गरेको थियो । सरकारको लक्ष्यअनुसार चार भन्सार कार्यालयहरुले ६ महिनाको अवधिमा ७५ प्रतिशत राजश्व संकलन गरेको दाबी गरेका छन् । केही दिनअघि प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा सहभागि चार भन्सार प्रमुखले यस्तो दाबी गरेका हुन् ।
भन्सार प्रमुखहरूले गत वर्षको तुलनामा भन्सारमा राजश्व वृद्धि भएको बताए । वीरगञ्ज भन्सार प्रमुख दीपक लामिछानेले चालु आर्थिक वर्षमा वीरगञ्ज भन्सारले लक्ष्यको ७५ प्रतिशत राजश्व संकलन गरेको उल्लेख गरे । उनले चालु आर्थिक वर्षको ६ महिनामा ७५ प्रतिशतमा राजश्व संकलन भएको भन्दै पर्सामा ९० प्रतिशत पुगेको उल्लेख गरे । उनले भन्सारमा साइसीपीमार्फत मालवस्तुहरुको जाँचपास र पुरानो भन्सार कार्यालयबाट यात्रुशाखा व्यवस्थान गरी भन्सारमा सहज वातावरण बनाएको उल्लेख गरे ।
उनले विदाको दिन करिव ५ हजार अन्य दिनमा २५ सय सवारीसाधन बिल काटेर नेपाल प्रवेश गर्ने गरेको बताए । उनले भन्सार कार्यालयले यात्री शाखालाई व्यवस्थित र पारदर्शी बनाएको बताए । उनले स्थानीयहरूको मागअनुसार बिहान ५ बजेदेखि राति ११ बजेसम्म सञ्चालन गरेको बताए । उनले औद्योगिक कच्चा पदार्थ,सवारी साधन,कच्चा तेल खाद्यन्न लगायतका वस्तुहरुलाई हेर्दा करिव २७ प्रतिशत मात्रै रेड जोनबाट सामानहरु पास गरेको बताए । उनले व्यापार सहजिकरण, जोखिम व्यवस्थापन गर्नेगरी छिटो, छरितो र व्यवस्थित गरेकाले राजश्व संकलनमा वृद्धि भएको दाबी गरे ।
विराटनगर भन्सार प्रमुख ज्ञानेन्द्रराज ढकालले विराटनगर भन्सार कार्यालयले राजश्वमा ८ प्रतिशत योगदान गर्ने गरेको बताए । उनले वार्षिक ४१ अर्ब ५५ करोडको लक्ष्य तोकिएकोमा मंसिरसम्म ७५ प्रतिशत राजश्व संकलन भएको बताए । उनले पुससम्म सतप्रतिशतको अवस्था रहेको जानकारी दिए ।
उनले आगामी दिनमा भन्सारमा राजश्व संकलन सुधार हुने संकेत देखिएको बताए । उनले यस वर्ष राजश्वको लक्ष्य पूरा गर्ने अपेक्षा रहेको पनि बताए । उनले वैदेशिक व्यापारमा गत वर्षको तुलनामा २ प्रतिशत कमी रहे पनि निर्यातमा तेलको निकासीले ६ प्रतिशतले वृद्धि भएको बताए । मेची भन्सार कार्यालयका भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले चालु आर्थिक वर्षको ६ महिनामा मंसिरसम्म ९० प्रतिशतको राजश्व संकलन गरेको बताए । उनले मेची भन्सारमा २०८०÷०८१ मा १४ अर्ब २३ करोडको राजश्व संकलन गरेको बताए । उनले चालु आर्थिक वर्षमा १७ अर्ब ३४ करोड संकलन गर्ने लक्ष्य राखेकोमा मंसिरसम्म ९० प्रतिशतको राजश्व संकलन गरेको बताए । उनले मंसिरमा मात्रै मेची भन्सार कार्यालयको राजश्व संकलन १०६ प्रतिशत भएको बताए ।
चीन तर्फको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत कमलकुमार भट्टराईले तातोपानी भन्सार कार्यालयले २२ अर्ब राजश्व संकलन हुने अपेक्षा गरेको बताए । उनले अघिल्लो वर्ष १३ अर्ब संकलन भएकोमा चालु आर्थिक वर्षको मंसिरसम्म ८६ प्रतिशत राजश्व संकलन भएको बताए । उनले अघिल्लो वर्षको तुलनामा तातोपानी भन्सार कार्यालयले ८१ प्रतिशत राजश्व संकलनमा वृद्धि गरेको पनि बताए । उनले कोभिड र भूकम्पको कारणले चीनसँगको व्यापार समुन्द्रबाट हुँदा भन्सारमा राजश्व सकलन कम भएपनि अहिले बिस्तारै वृद्धि हुँदा राजश्व संकलनमा वृद्धि भएको दाबी गरे । उनले विद्युतीय सवारी साधनको व्यापार चीनतर्फ बढी हुन थालेकाले चीनसँगको व्यापार बढ्दो अवस्थामा रहेको बताए ।
चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेको छ । तर चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७२ अर्ब राजश्व संकलन गर्ने लक्ष्य राखे पनि पूरा भएको छैन । सरकारको लक्ष्य पूरा हुनको लागि अबको ६ महिनामा ८ खर्बको राजश्व संकलन गर्नुपर्ने आवश्यकता छ ।
प्रतिक्रिया दिनुहोस्