काठमाडौँ। नेपाल र भारतबीचको व्यापार संझौतालाई थप प्रभावकारी बनाउने उद्देश्यले भारतको राजधानी नयाँ दिल्लीमा पहिलो चरणको छलफल सम्पन्न भएको छ। यही २०२५ जनवरी १८ मा नाडा (नेपाल अटोमोवाइल्स डिलर्स एशोसिएसन) का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भारत सरकारको वाणिज्य विभागका सहसचिव विमल आनन्द र इन्जिनियरिङ एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डियाका (इइपिसी) अध्यक्ष पंकज चड्डासँग व्यापार विस्तार, आयात–निर्यात सुदृढीकरण र आपसी सहकार्यका सम्भावनाका विषयमा छलफल गरेको हो।
छलफलमा दुवै पक्षले व्यापारलाई थप प्रभावकारी बनाउने रणनीति तय गर्न सुझाव आदान–प्रदान गरेका थिए। विशेष गरी अटोमोबाइल कम्पोनेन्ट, स्पेयर पार्ट्स तथा विद्युतीय सवारी साधनको व्यापार विस्तारमा जोड दिइयो। छलफलपछि अर्को चरणका लागि मिति तय गरी भारतको इइपिसी प्रतिनिधिमण्डललाई नेपालमा निमन्त्रणा गर्ने सहमति गरिएको छ।
जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना भइरहेको भारत मोबिलिटी अटो प्रदर्शनीको सन्दर्भमा नाडाको केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले भारत भ्रमण गरेका छन्। नाडाका प्रतिनिधिहरूले भारतका उद्योगपति र सरकारी अधिकारीहरूसँग भेटघाट गरी व्यापारका नयाँ सम्भावनाबारे छलफल गरेका थिए।
उक्त छलफलमा इइपिसी तर्फबाट पूर्वअध्यक्ष अरुण गारोडिया, सह निर्देशक पल्लवी साह, कार्यकारी निर्देशक अधिप मित्रा र निर्देशक निशिकान्त जुम्दाको उपस्थिति रहेको थियो। नाडा तर्फबाट निवर्तमान अध्यक्ष डा. ध्रुव थापा, वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, संस्थागत उपाध्यक्ष पुष्कर ओझा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल र सहकोषाध्यक्ष पंकज अग्रवाल सहभागी भएका थिए।
यो पहलले नेपाल–भारत व्यापार संझौतालाई थप सुदृढ बनाउँदै व्यापारिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्