टेलिभिजनहरूको भ्युवरसिपका आधारमा विज्ञापन दिन बोर्डले थाल्यो तयारी


काठमाडाैँ । विज्ञापन बोर्डले टेलिभिजन रेटिङ प्वाइन्ट (टिआरपी) निकाल्नेबारे तयारी थालेको छ । बोर्डले टेलिभिजनहरुको भ्युवरसिप निकाल्ने र सोहि आधारमा टेलिभिजनहरूमा विज्ञापन दिनेगरी तयारी थालेको हो ।

नेपालमा अहिलेसम्म टेलिभिजन रियल टाइममा कति मान्छेले हेरिरहेका छन् भनेर तथ्यांक निकाल्न सकेको छैन । टेलिभिजनको टिआरपीको आधारमा विज्ञापन प्राप्त हुने अन्तर्राष्ट्रिय अभ्यसाको शुरुवात गर्न छलफल चलाइएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बताए ।

टेलिभिजनको लोकप्रियता र टेलिभिजनबाट प्रशारण हुने कार्यक्रमको लोकप्रियताको आधारमा विज्ञापन बाँडफाँड गर्नको लागि छलफल अघि बढाइएको अध्यक्ष हुमागाईंले बताए ।

उनले भने,”नेपालमा टेलिभिजन रियल टाईममा कति मान्छेले हेरिराखेका छन् ? कुन टेलिभिजन कति लोकप्रिय छ ? र टेलिभिजनभित्रको पनि कुन कार्यक्रम कति लोकप्रिय छ ? भनेर अहिलेसम्म हामीले डाटा निकाल्न सकेका छैनौं । संसारभरि टेलिभिजनहरुको भ्युवरसिप निकाल्ने तथा टेलिभिजन रेटिङ पोइन्ट (टिआरपी) निकाल्ने गरिन्छ । त्यो आधारमा टेलिभिजनहरुमा विज्ञापन प्राप्त हुने, र विज्ञापन पनि कार्यक्रमको लोकप्रियताको आधारमा मापन गरिन्छ । त्यसैले हामीले नेपालमा पनि टेलिभिजनहरुको रेटिङ निकाल्नुपर्छ भनेर हामीले छलफल चलाएका हौं।”

यस छलफलले टेलिजिनहरूको टिआरपी निकाल्ने र सोही आधारमा विज्ञापन दिन सहजता प्रदान गर्ने उनको विश्वास छ ।