नेपाल र भारतबिच अटोमोबाइल क्षेत्रमा सीप विकासका लागि चार बुँदे सम्झौता


काठमाडाैँ । भारतको नयाँ दिल्लीमा गत माघ ६ गते नेपाल अटोमोबाइल्स एसाेसिएसन अफ नेपाल (नाडा), अटोमोटिभ स्किल डेभलपमेन्ट काउन्सिल (एयसडिसि), र अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चरर्स एसोसिएसन (एसिएमए) बिच चार बुँदे त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा नाडाका अध्यक्ष करण चौधरी, एयसडिसिकाका प्रमुख कार्यकारी अधिकृत अरिमदम लाहिरी, र एसिएमएका महानिर्देशक भिनी मेहताले हस्ताक्षर गरेका हुन्।

नेपाल र भारतबिच अटोमोबाइल क्षेत्रको सीप विकास र तालिमका लागि ऐतिहासिक मानिएको यो सम्झौता नेपालका प्रशिक्षक, मूल्यांकनकर्ता र डिलरहरूको क्षमता अभिवृद्धिमा केन्द्रित छ। सम्झौता अनुसार गुणस्तरीय तालिम कार्यक्रम सञ्चालन गरी अटोमोटिभ उद्योगमा रोजगारीका अवसर वृद्धि गर्न विशेष जोड दिने भनिएको छ।

भारतको राजधानीमा जारी ‘भारत मोबिलिटी’ अन्तर्गत आयोजित अटो प्रदर्शनीको अवसरमा भएको हस्ताक्षर कार्यक्रममा एनएडिएका अध्यक्ष करण चौधरीको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी भएको थियो। कार्यक्रममा नेपाल र भारत दुवै देशका अटोमोटिभ उद्योगका प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो।

एनएडिएका अध्यक्ष चौधरीले यो सम्झौताले नेपालको अटोमोबाइल क्षेत्रको विकासमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै भारतसँगको सहकार्यलाई थप सुदृढ बनाउने बताए।