काठमाडाैँ । खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीको समस्या चालु वर्षभित्रै समाधान हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मंगलवार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मन्त्री यादवले धरानको खानेपानीको समस्या समाधान गर्न खानेपानी मन्त्रालय पहिलादेखि नै लागिरहेको बताएका हुन्। उनले धरानको खानेपानीको समस्या यही वर्षभित्र समाधान हुने र टेण्डर चाँडै निकाल्ने बताए।
जग्गा अधिग्रहणको काम बाँकी रहेकाले उपमहानगरपालिकाले जग्गा व्यवस्थापन गरेसँगै छिटै टेण्डर आह्वान हुने बताए । धराने जनताको माग पूरा गर्न खानेपानी मन्त्रालय प्रतिवद्ध रहेको बताए । उनले भने,”धरानको खानेपानीको समस्या समाधान गर्न खानेपानी मन्त्रालय पहिलादेखि नै लागिरहेको थियो । सबै अघि बढाइसकेका छौँ । धरानको खानेपानी समस्या समाधान हुन्छ । यसपालि टेण्डर निस्किन्छ । हर्का साम्पाङजी खुशी भएर नै जानुभएको छ । जग्गा अधिग्रहणको समस्या छ । धराने जनताको माग पूरा गर्न खानेपानी मन्त्रालय प्रतिवद्ध छ ।”
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्थानीय सरकारले केन्द्रको स्वामित्व नमान्ने, प्रदेशको स्वामित्व नमान्ने भन्ने नहुने बताए । उनले एकले अर्कोलाई छेकेर देश चल्न नसक्ने बताए । पानीको दुःख शहरदेखि गाउँसम्मै रहेकाले यसको दीर्घकालीन समाधान हुनुपर्ने बताए ।
उनले भने, “केन्द्रको स्वामित्व नमान्ने, प्रदेशको स्वामित्व नमान्ने भन्ने हुँदैन । एकले अर्कोलाई छेकेर देश चल्दैन । गाउँगाउँमा, शहर शहरमा खानेपानीको दुःख छ । हाम्रा ठूला ठूला नदीहरु, सप्तकोशी, कर्णाली, नारयणी जस्ता नदीहरु बगेर भारततिर गइरहेको अवस्था छ । त्यो पानीलाई लिएर हाम्रो धारामा झार्ने पनि क्षमता छैन । खानेपानी आधारभुत आवश्यकता हो । हामीलाई तीन करोड लिटर दैनिक खपत हुन्छ । डिपिआर गर्न ५ अर्ब करिव मागेका छौँ ।”
प्रतिक्रिया दिनुहोस्