ओम मेगाश्री फर्मास्यूटिकल्सले माघ २१ गतेदेखि आइपीओ निष्कासन गर्दै


काठमाडौँ। ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले माघ २१ गतेदेखि रोजगारी गर्न विदेश गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गर्ने भएको छ । आइपीओमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले घटीमा १० कित्ता र बढीमा १० हजार कित्ता खरिदका लागि फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता सेयर अंकित मूल्य १०० रुपैयाँका दरले निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्येबाट १० प्रतिशत अर्थात् १ लाख ८० हजार कित्ता सेयर पहिलो चरणमा निष्कासन गर्न लागेको हो।

कम्पनीले ५ प्रतिशत अर्थात् ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत अर्थात् ५४ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरेर बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सर्वसाधारका लागि दोस्रो चरणमा निष्कासन गर्नेछ।

निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।