गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्नका लागि अध्यादेश ल्यायौँः उपप्रधानमन्त्री पौडेल


काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्नका लागि अध्यादेश ल्याएको बताएका छन् ।

बिहीवार काठमाडौँमा राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समयको अभाव र काम गर्नैपर्ने दबाबका कारण अध्यादेश ल्याइएको बताएका हुन् । उनले मुलुकको अर्थतन्त्र केही समय अघिदेखि दबाब र चापमा रहँदै आएको उल्लेख गर्दै अर्थतन्त्रका समस्याहरुलाई चिन्दै, चिर्दै र समाधान गर्दै अघि बढ्ने कोशिस गरिरहेको बताए ।

समग्र अर्थतन्त्रलाई गतिशिल, चलायमान बनाउने र उत्पादन, उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने अभियानमा तिब्रताका साथ सरकार लागिरहेको उनकाे भनाइ छ । अहिलेको सरकारले कुनै औषत काम गरेर एउटा सरकारको सूचिमा अर्को एउटा सरकार भएर दिन बिताउने पक्षमा नरहेको उनले बताए ।

उनले अर्थतन्त्रका क्षेत्रमा रहेका समस्याहरुको प्रभावकारी समाधान गर्ने पक्षमा सरकार रहेको उल्लेख गरे । आन्तरिक र वाह्य लगानी लगानी अभिवृद्धि गर्ने, उत्पादन, उत्पादकत्व वृद्धि गर्न अध्यादेश ल्याइएको उनले बताए । 

उपप्रधानमन्त्री पौडेलले वर्तमान सरकारले गुणस्तरीय सेवा प्रवाह र सुशासनमा काम गर्न चाहेको उल्लेख गरे।