वैदेशिक रोजगारसम्बन्धीका कानून परिमार्जन गरिने


काठमाडाैँ । सरकारले वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गर्ने भएको छ । बिहीवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सो कुरा जानकारी गराएका हुन् ।

वैदेशिक रोजगारीको व्यवस्थापनको लागि सरकार लागिपरेको उनकाे भनाइ छ । उनले वैदेशिक रोजगारमा जाने श्रमिकहरु ठगिने  क्रम बढिरहेको उल्लेख गर्दै यसको न्युनिकरणका लागि सरकार लागि परेको बताए । वैदेशिक रोजगारसम्बन्धीका मुद्दाहरु जिल्ला तहको अदालत र स्थानीय प्रशासनले हेर्नेगरी कानून परिमार्जन गर्नुपर्ने उनले उल्लेख गरे ।

उनले वैदेशिक रोजगारसम्बन्धी मुद्दा जिल्ला तहले हेर्ने व्यवस्था गर्न सकिएमात्रै वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न सकिने बताए । 

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकलाई बिना धितो ऋण उपलब्ध गराउने नीति लिएको उनकाे भनाइ छ । वैदेशिक रोजगारीमा जाँदा लाग्ने लागतको टुंगो लगाउनसके उक्त कार्यक्रम कार्यान्वयन गर्न सकिने उनले बताए ।