काठमाडाैँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० लाई सर्वसहमतिले पारित गरेको छ ।
आइतवार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकले उक्त विधेयकलाई सर्वसहमतिले पारित गरेको हो । समितिले लामो समय विधेयकका विषयमा छलफल गरी समितिले बनाएको अन्तिम ड्राफ्टको विषयमा उद्योग,कानून र सञ्चार मन्त्रालयसँगको छलफलपछि विधेयक समितिबाट पारित भएको हो ।
विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभा हुँदै छलफलका लागि समितिमा आएको थियो । समिति बठैकमा बोल्दै समिति सभापति अब्दुल खानले सबैको सर्वसहमतिले विधेयक पास भएको घोषणा गरे ।
समिति बैठकमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० महत्वपूर्ण रहेको भन्दै नयाँ विधेयक बन्नु खुशीको विषय भएको बताए ।उनले नयाँ ऐन समिति र संसदबाट पारित गराउनु भनेको समिति र सरकारको पुँजी भएको बताए ।
उनले विगतमा धेरै ऐनहरू बनाउँदा समय सापेक्ष भए÷नभएको समिक्षाका आधारमा नयाँ कानून बनाउन आवश्यक रहेको बताए । उनले सरकारले ऐन कानूनहरु बनाउँदा सरलिकृत बनाउने प्रयास स्वरुप धेरै ऐनहरु संशोधन गरिरहेको उल्लेख गरे । उनले ऐन कानूनहरु सरलिकृत हुँदा कार्यान्वयनमा सहजता हुने बताए ।
विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० विधेयकले मध्यस्तकर्ता,उत्पादक र विक्रेतालाई व्यवसायीको रुपमा लिएको छ । विधेयकले अरुको उत्पादनलाई अनलाइन माध्ययमबाट व्यापार गर्ने व्यवस्था गरेको छ । —न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्