काठमाडौँ । उपभोक्तालाई स्वच्छ र गुणस्तरीय तरकारी तथा फलफूल उपलब्ध गराउने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज बल्खु कृषि तथा तरकारी बजारमा विषादी अवशेष परीक्षण गरेको छ। मोबाइल फुड ल्याब प्रयोग गरेर गरिएको यो परीक्षणमा १२ प्रकारका तरकारी तथा फलफूलका २० वटा नमूना संकलन गरी आरबिपिआर विधिबाट विषादी अवशेषको मापन गरिएको हो।
परीक्षणमा गोलभेंडा, फूलगोभी, फर्सी, रायो साग, च्याउ, मटरकोसा, भन्टा, गाजर, हरियो सिमी, केरा, हरियो र कालो अंगूरलगायतका तरकारी र फलफूल समावेश थिए। नतिजामा न्यूनतम ९ प्रतिशतदेखि अधिकतम २६ प्रतिशतसम्म इन्जाइम इन्हिबिसन पाइएको छ। विभागका अनुसार आरबिपिआर मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम इन्जाइम इन्हिबिसन भएको तरकारी तथा फलफूल खान योग्य मानिन्छ। परीक्षण गरिएका सबै नमूना स्वीकृत दायराभित्र पाइएको विभागले जनाएको छ।
तरकारी तथा फलफूल विभिन्न सात जिल्ला- भक्तपुर, धादिङ, चितवन, सर्लाही, काठमाडौँँ, ललितपुर र रामेछापबाट ल्याइएका थिए भने फर्सी, केरा र अंगूर भारतबाट आयात गरिएका थिए। परीक्षणका क्रममा व्यवसायीहरूले स्वेच्छाले आफ्नो स्टलमा रहेका वस्तु परीक्षण गराउन नमूना उपलब्ध गराएका थिए।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जनका अनुसार आगामी दिनमा पनि उपत्यकाका अन्य तरकारी बजारमा मोबाइल फुड ल्याब प्रयोग गरेर नियमित रूपमा विषादी अवशेष परीक्षण गरिनेछ। यसले उपभोक्तालाई सुरक्षित र गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउन थप योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस्