मिठाईमा मापदण्डबाहिर रंग प्रयोग नगर्न काठमाडौँ महानगरको चेतावनी


काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले मिठाई तथा अन्य खाद्य पदार्थमा प्रयोग गरिने रंगको नियमन कडाइ गर्न व्यवसायीहरूलाई सचेत गराएको छ।

बजारमा प्रतिस्पर्धात्मक रूपमा मिठाई आकर्षक देखाउने प्रयोजनका लागि प्रयोग गरिने रङले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने विभिन्न समाचारहरू सार्वजनिक भएपछि महानगरले यस विषयमा चेतावनी जारी गरेको हो।

महानगरपालिकाले काठमाडौँ बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०(३), (थ) र खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ९ लाई आधार मान्दै व्यवसायीहरूलाई कानुनी मापदण्डभित्र रही खाद्य पदार्थ उत्पादन, प्रशोधन तथा बिक्री वितरण गर्न निर्देशन दिएको छ।

खाद्य पदार्थमा अनुमोदित र सुरक्षित रंग मात्र प्रयोग गर्नुपर्नेमा कतिपय व्यवसायीहरू नियमन विपरीत हानिकारक रंग प्रयोग गरिरहेको गुनासो उपभोक्ताहरूबाट प्राप्त भइरहेको महानगरले जनाएको छ। यसरी नियमविपरीतको गतिविधि रोक्न व्यवसायीहरूले आफ्नै नैतिक तथा कानुनी दायित्व बुझेको हुनुपर्ने महानगरको भनाइ छ।

“आफ्नो मिठाई खाद्य व्यवसायलाई थप मर्यादित र स्वच्छ राख्नु सम्बन्धित व्यवसायीहरूको मूल कर्तव्य हो,” सूचनामा उल्लेख गर्दै महानगरले आम उपभोक्ता, व्यवसायी तथा सरोकारवालाहरूलाई सुरक्षित तथा मापदण्डअनुरूपका खाद्य वस्तु उत्पादन र बिक्री वितरण गर्न आह्वान गरेको छ।