अर्थतन्त्र ६ महिना पहिलाको जस्तो भयावह स्थितिमा छैनः प्रधानमन्त्री


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र अहिले ६ महिना पहिलाको जस्तो भयावह स्थितिमा नरहेको बताएका छन् ।

शुक्रवारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रका परिसूचकहरु राम्रो रहेको बताएका हुन् । नराम्रा परिसूचकहरु पनि अहिले सुधारोन्मुख रहेको बताए । उनले अर्थतन्त्रलाई चलायमान बनाउन र माग बढाउन सरकार लागि परेको बताए ।

अर्थतन्त्रमा नगद प्रवाह गर्न सरकार बन्ने वित्तिकै लामो समयदेखि भुक्तानी नदिने सरकारी रवैयालाई परिर्वतन गरेको बताए ।निर्माण व्यवसायीको कानूनसम्मत रुपमा सिर्जना भएको तर भुक्तानी नभएको विगत आर्थिक वर्षदेखिको ३० अर्ब रुपैयाँको दायित्व फरफारक गरेको उल्लेख गरे । ३५ जिल्लाका १५ लाख भन्दा बढी दुग्ध किसानलाई सरकार बनेको एक सय दिनभित्रै भुक्तानी दिएको बताए । 

प्रधानमन्त्री ओलीले निजी क्षेत्रकै माग बमोजिम अर्थतन्त्र सुदृढीकरणका लागि आर्थिक सुझाव आयोगजस्ता महत्वपूर्ण आयोगहरूको गठन गरिएको बताए ।