काठमाडाैँ । न्युज एजेन्सी नेपालले गरेको ‘मन्त्रीसँग युवा’ कार्यक्रममा जलवायु कार्यमा युवाको भुमिकालाई अझै प्रभावकारी र सशक्त बनाउन सरकारले छुट्टै संयन्त्रको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् । उनीहरूले जलवायु अनुकुलन, न्युनिकरण, जलवायु न्याय लगायत विभिन्न अभियानमा लागेका युवाहरुको सुझाव, नविनतम ज्ञान, सीप तथा अन्वेषणलाई ग्रहण गरेर वन तथा वातावरण मन्त्रालयले आफ्ना नीति तर्जुमा गर्नुपर्नेमा जोड दिएका छन् ।
जलवायु कार्य र जलवायु न्यायका लागि युवाहरूले ठूलो योगदान दिइरहेको भएपनि त्यसलाई मन्त्रालयले सही ढंगले ग्रहण गर्न नसकेको आरोप उनीहरूले लगाए । जलवायु अभियन्ता रोजिना श्रेष्ठले सरकारी निकायका पदाधिकारीसँग जलवायु न्यायबारे पर्याप्त जानकारी नभएका कारण समन्वय गर्न कठिन भएको गुनासो गरिन् । उनले जलवायु परिवर्तनका विषयमा युवाहरुसँग संयोजन गर्न मन्त्रालयभित्र छुट्टै संयन्त्र बनाउन अनुरोध गरिन् ।
युवा जलवायु अभियन्ता प्रकाश तामाङले प्लाष्टिक रहित काठमाडाैँ बनाउन सकिँदैन भनि प्रश्न गरे । उनले सबैको घरबाट निस्कने फोहरको प्रकृतिअनुसार व्यवस्थापन गर्न सरकारसँग माग गरे । उनले भने, “प्लाष्टिक फ्रि काठमाडौं कहिले हुन सक्ला ? जलवायु परिवर्तनको प्रभावमा फोहर व्यवस्थापनले पनि प्रभाव राख्ने गर्छ । कुहिने र नकुहिने फोहरलाई भिन्ना भिन्नै व्यवस्थापन गर्दा पनि मिथेनको उत्र्सजनमा ३ देखि ४ प्रतिशतमा फरक हुुन्छ भनिन्छ । हामीले यसलाई नीतिगत व्यवस्था गरेर सर्वसाधरणलाई रिवार्ड दिनसक्ने गरी केही गर्न सक्छौँ ? रंग लगाएर ग्रिन सिटी बनाउने गरिएको छ । सार्वजनिक भवनहरुलाई इनर्जी इफिसेन्स बनाउन सक्छौँ ? ”
युवा अभियन्ता सुस्मिता सिग्देलले जलवायुविज्ञान नबुझ्ने सामान्य नागरिकले तापक्रम बढ्दै जाँदा जलवायु परिवर्तनको असरले खडेरी परेको नबुझ्ने उल्लेख गर्दै खडेरी पर्दा वैकल्पिक सिंचाईको बारेमा मन्त्रालयको तयारीबारे जानकारी माग गरिन् ।
युवा अभियन्ता अविशा मगरले जलवायुजन्य विपद्का घटना कुनैपनि समयमा सामना गर्नुपर्ने भएकाले पूर्व तयारीमा जोड दिन ध्यानाकर्षण गराइन् । उनले अमेरिकाकामा भएको आगलागिको दृष्टान्त दिँदै, नेपालमा यदि त्यस्तै भयो भने के हामी त्यसको सामना गर्ने अवस्थामा छाैँ ? भनी प्रश्न गरिन् ।
अर्की युवाअभियन्ता रुविना तामाङले एलजिविटिआईक्यु समुदायमा जलवायु परिवर्तनको सामान्य ज्ञान पनि पुग्न नसकेकोतर्फ मन्त्रालयको ध्यानाकर्षण गराइन् । सरकारका नीतिहरुमा सहभागीता सुनिश्चित गरिएपनि कार्यान्वयन हुन नसकेको भन्दै जलवायु कार्यमा एलजिविटिआईक्यु समुदायलाई कसरी सहभागी गराउनुहुन्छ ? भनी वन मन्त्रीलाई प्रश्न गरिन् ।
जलवायु परिर्वतन र मानव सम्बन्धको अध्ययन अनुसन्धान गर्दै आएकी अर्की अभियन्ता शारदा थापाले जलवायु परिवर्तनको प्रभाव खेप्न बाध्य दुर्गम जिल्लाका बासिन्दालाई जलवायु अनुकुलन र न्युनिकरणबारे जानकारी नै पुग्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
त्यसैगरी जलवायु अभियन्ता अपेक्षा ढकालले दुर्गममा रहेका युवाहरुको जलवायु अनुकुलन र न्युनिकरणमा संलग्नता बढाउन उनीहरुको क्षमता वृद्धि गराउने कस्ता योजना मन्त्रालयसँग छन् भनी प्रश्न गरिन् ।
मन्त्रीसँग युवा कार्यक्रममा झन्डै २० जना युवा जलवायु अभियन्ताले जलवायुकार्य, वातावरण संरक्षण, युवा सहभागीताको सुनिश्चिता लगायत विषयमा मन्त्रीलाई सिधा प्रश्न गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्