शशीला मोटर्सद्वारा राष्ट्रिय स्वतन्त्र मल्टिप्रपोज व्यवासायीलाई ३० वटा किटोन ब्राण्डका इभी गाडीहरू हस्तान्तरण


काठमाडौँ । शशीला मोटर्स प्रालिले राष्ट्रिय स्वतन्त्र मल्टिप्रपोज व्यवासायी प्रालिलाई ३० वटा किटोन ब्राण्डका १४ सिट क्षमताका विद्युतीय भ्यान हस्तान्तरण गरेको छ।

ती गाडीहरू ठोरी, हेटौंडा हुँदै काठमाडौँसम्म चल्नेछन् । गाडी हस्तानन्तरण गर्दै शशीला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बिक्री पछिको सर्भिसलाई सहज बनाउनु आफ्नो प्राथमिकतामा रहेको बताए । उनले भने, “अगामी दिनमा ग्राहकलाई उच्चतम सेवा र गुणस्तरीय गाडी प्रदान गर्ने हाम्रो प्रतिबद्धता रहिरहनेछ।” उनले उक्त सवारी हस्तान्तरणले नेपालको यातायात क्षेत्रलाई अझ दिगो र वातावरणमैत्री बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले अहिलेको समयमा विद्युतीय गाडी निर्बिकल्प रहेको भन्दै ब्यवसायीहरुलाई सफलताको शुभकामना दिए । उनले भने, “इभी गाडीहरूले देशको ऊर्जा प्रणालीलाई अझ प्रभावकारी बनाउने र पर्यावरणमैत्री यातायातको प्रवृत्तिलाई प्रोत्साहित गर्ने महत्त्वपूर्ण कदम हो।’’

कार्यक्रममा व्यवसायीहरूले पछिल्लो समय देशभर विद्युतीय यातायातप्रति आकर्षण बढ्दै गएको बताउँदै यसले वातावरणमा समेत सकारात्मक प्रभाव पार्ने दाबी गरे । उनीहरूले परम्परागत इन्धनको तुलनामा विद्युतीय गाडीहरू सञ्चालन खर्चमा किफायती रहेको र जसले दीर्घकालीन रूपमा व्यवसायलाई फाइदा पुर्याउने बताए ।

यस हस्तान्तरणले इभी गाडीहरूको प्रचलन बढाउन र देशको ऊर्जा स्रोतहरूको अधिकतम प्रयोग गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षासमेत गरिएको छ।