नाडा र एनएभिटीबिच अटोमोबाइल क्षेत्रमा दक्ष श्रमिक उत्पादनका लागि सहकार्य


काठमाडौँ । नेपालमा अटोमोबाइल क्षेत्रमा दक्ष श्रमिकको अभाव पूर्ति गर्न नाडा अटोमोबाइल्स एसोसिएएसन अफ नेपाल र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) बिच सहकार्य गर्ने समझदारी भएको छ।

काठमाडौँमा सम्पन्न बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको एनएभिटी र नाडाका प्रतिनिधिहरूबिच अटोमोबाइल क्षेत्रमा बढ्दो रोजगारी र दक्ष जनशक्तिको मागलाई सम्बोधन गर्न पारस्परिक सहकार्य गर्ने सहमति जनाइएको हो। उक्त समझदारीअनुसार आवश्यक पाठ्यक्रम निर्माण, तालिम कार्यक्रम सञ्चालन, रोजगारीका अवसर सिर्जना तथा उद्योग र श्रमिकबीचको अन्तर घटाउने पहल गरिनेछ।

बैठकमा नाडाका अध्यक्ष करणकुमार चौधरी, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेतीलगायतको उपस्थिति रहेको थियो। समझदारीअनुसार प्रारम्भमा लेवल १ बाट तालिम सुरु गरिनेछ र क्रमशः लेवल २ सम्म विस्तार गरिनेछ। साथै, आवश्यकताअनुसार पाठ्यक्रम निर्माण गरिनेछ भने प्रशिक्षार्थीहरूका लागि ओरिएन्टेसन कार्यक्रमसमेत सञ्चालन गरिनेछ।

दुई संस्थाबीच भएको यस सहकार्यले अटोमोबाइल उद्योगका लागि दक्ष श्रमिक उत्पादनमा सहजता ल्याउने तथा उद्योगको माग अनुसार जनशक्ति आपूर्ति गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।