काठमाडौँ । क्याथे प्यासिफिक एयरलाइन्सको काठमाडौँ-हङकङ उडानमा यात्रुहरूमा देखिएको खाद्य विषाक्तता प्रकरणबारे नेपाल सरकारले अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रारम्भिक अनुसन्धानपछि यात्रुहरूलाई उडानका क्रममा खुवाइएको खानाका कारण विषाक्तता देखिएको निष्कर्ष निकालेको छ।
खाद्य स्वच्छता नियामक निकायहरूको अन्तर्राष्ट्रिय सञ्जालको आपत्कालीन सम्पर्क बिन्दुको रूपमा कार्यरत विभागका महानिर्देशक सञ्जीव कुमार कर्णको अध्यक्षतामा पुस २८ गते बसेको बैठकले अनुसन्धान टोली गठन गर्ने निर्णय गरेको थियो। उक्त टोलीको संयोजकको जिम्मेवारी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धिताललाई दिइएको थियो भने सहसंयोजक इश्वर सुवेदी र सदस्यहरू सारदा आचार्य तथा सृजना राई तोकिएका थिए।
टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धित निकायहरूसँग समन्वय गर्दै २०२५ जनवरी ८ र ९ मा काठमाडौँबाट हङकङ गएका यात्रुहरूमा देखिएको स्वास्थ्य समस्याका कारण पहिचान गर्न अध्ययन अघि बढाएको थियो। अनुसन्धानका क्रममा क्याथे प्यासिफिक एयरलाइन्सको काठमाडौँ सम्पर्क कार्यालयसँग उडानमा खुवाइने खानाको तयारी, भण्डारण प्रक्रिया, यात्रुहरूको विवरण, खानाको मेनु, तापक्रम व्यवस्थापन, क्याटरिङ सेवा प्रदायकको प्रमाणीकरण तथा विमानका केबिन क्रुहरूको स्वास्थ्य परीक्षणसम्बन्धी विवरण माग गरिएको थियो।
यही क्रममा, हङकङको स्वास्थ्य विभाग अन्तर्गतको सेन्टर फर हेल्थ प्रोटेक्शनसँग इमेल आदान-प्रदान हुँदा यात्रुहरूमा देखिएको खाद्य विषाक्तताको स्रोत नेपाल नभई उडानकै समयमा खुवाइएको खाना भएको पुष्टि भएको छ। प्रारम्भिक जानकारीअनुसार १० र १८ गरी २८ यात्रु प्रभावित भएको बताइए पनि हङकङबाट प्राप्त पछिल्लो विवरणअनुसार वास्तविक संख्या ४३ पुगेको खुलेको छ।
उक्त खाना हङकङस्थित क्याथे प्यासिफिक क्याटिरिङ सर्भिस,११ क्याटिरिङ राेड इस्ट, हङकङ इन्टरनेशनल एरपाेर्टले तयार गरेको पुष्टि भएको छ। नेपाल सरकारको अध्ययन टोलीले भविष्यमा यस्ता घटनाहरू रोक्न अन्तर्राष्ट्रिय हवाई सेवाहरूलाई उडानका क्रममा खुवाइने खानाको गुणस्तर सुधार गर्न आग्रह गरेको छ। साथै, विमानस्थल र उडानमा उपलब्ध गराइने खानाको स्वच्छता सुनिश्चित गर्न सम्पूर्ण सरोकारवालाहरूलाई विशेष ध्यान दिन सचेत गराइएको छ।
प्रतिक्रिया दिनुहोस्