काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले यातायात व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउन वडा नम्बर ५ हाँडीगाउँ क्षेत्रका सडकहरूमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था लागू गर्ने भएको छ। महानगरको सहरी व्यवस्थापन विभागले माघ २९ गतेको निर्णयअनुसार आगामी फागुन ७ गतेबाट एकतर्फी नियम लागू गरिनेछ।
नयाँ व्यवस्थाअनुसार, थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महाङ्काल मार्ग हुँदै हाँडीगाउँ क्षेत्रतर्फ मात्र सवारी साधन प्रवेश गर्न पाउनेछन्। विशालनगरतर्फबाट आउने सवारीलाई भीमसेन मार्ग हुँदै वडा कार्यालयतर्फ जाने अनुमति नदिइने र हात्ती महाङ्कालतर्फ मात्र जान दिइनेछ। हाँडीगाउँ हुँदै ढुङ्गेधारातर्फ सिधा प्रवेश रोक लगाइनेछ, जसअनुसार सवारी साधनलाई थटु मार्गतर्फ निर्देशित गरिनेछ।
यस्तै, नक्साल भाटभटेनीतर्फबाट आउने सवारी साधनलाई वडा नम्बर ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरिनेछ, भीमसेन मार्गतर्फ मात्र जान पाइनेछ। ढुङ्गेधाराबाट हात्ती महाङ्कालतर्फ सवारी साधन प्रवेश गर्न नपाउने व्यवस्था गरिएको छ। साथै, वडा कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ जाने सवारीलाई पनि रोक लगाइएको छ।
बाल मन्दिरतर्फबाट टंगाल जाने कैलाश मार्गमा बाल मन्दिरतर्फ मात्र प्रवेश गर्न पाइनेछ भने टंगालबाट बाल मन्दिरतर्फ आउने सवारी निषेध गरिएको छ। महानगरपालिकाले नयाँ व्यवस्थाले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस्