रायन इनर्जीले आईपिओ निष्काशन गर्ने


काठमाडौँ । रायन इनर्जी प्रा.लि. र ग्लोबल आइए‌मई क्यापिटल लि. बिच प्राथमिक शेयर निष्काशन गर्न द्विपक्षीय सम्झौता भएको छ। दुई, तीन तथा चार पाङ्ग्रे विद्युतीय सवारी साधनहरुको संयोजन तथा उन्नत व्याट्री स्वाप मेकानिजम र सञ्चालन प्रणाली एकिकृत गर्ने तथा नेपालको यातायत क्षेत्रमा दिगो भविष्य निर्माण गर्ने उद्देश्यले स्थापित रायन इनर्जी प्रा.लि. ले आर्थिक वर्ष २०८२(८३ मा प्राथमिक शेयर निष्काशन गर्न संस्थागत परामर्श तथा व्यावसायिक अवधारणा र प्राथमिक शेयर निष्काशन सम्बन्धी सेवाको लागि सम्झौता भएको हो ।

मंगलबार आयोजित एक विशेष कार्यक्रममा रायन इनर्जी प्रा.लि.को तर्फबाट प्रबन्ध सञ्चालक दिपक कुमार रौनियार र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

वि.सं. २०७७ साल पौष महिना १२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रा.लि. को रुपमा दर्ता भएको रायन इनर्जी प्रा. लि. को रजिष्टर्ड (केन्द्रीय) कार्यालय बाग्मती नगरपालिका सर्लाहीमा रहेको छ। सो को सम्पर्क कार्यालय काठमाण्डौँको दरबारमार्गमा रहेको छ।

यस कम्पनीले मिति २०७८ साल पौष महिना ०५ गते उद्योग, पर्यटन तथा वन मन्त्रालयबाट विभिन्न प्रकारका इलेक्ट्रिक साधनहरु (दुई, तीन र चार पाङ्ग्रे) उत्पादन गर्न अनुमति प्राप्त गरी कार्य सञ्चालन गरेको हो।

यस समूहले एसेम्बली प्लान्ट, नवीकरणीय ऊर्जा प्रणाली एकीकरण र वितरण, ग्रामीण तथा शहरी विद्युतीकरणको साथै सौर्य सिंचाई, पावर ब्याकअप प्रणाली एकीकरण तथा स्थापना लगायतका विभिन्न व्यावसायिक क्षेत्रमा विशेषज्ञता हासिल गरेको छ। यसले हालको बजार अवस्थाको गहिरो विश्लेषण गर्दै नेपालमा दिगो तथा स्वच्छ यातायात प्रणाली विकासमा अग्रणी स्थान हासिल गर्न सक्ने विश्वास लिएको छ।