ट्रम्प-मोदी वार्ता: व्यापार असन्तुलन, रक्षा सम्झौता र रणनीतिक साझेदारीमा छलफल


काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच वासिङ्टनस्थित ह्वाइट हाउसमा वार्ता सम्पन्न भएको छ। दुई नेताबिच व्यापार, रक्षा सहकार्य, ऊर्जा आपूर्ति तथा कूटनीतिक सम्बन्धबारे व्यापक छलफल भएको बेलायति एजेन्सी राेयर्टसले जनाएकाे छ । ट्रम्पले भारतसँगको व्यापार असन्तुलनबारे चिन्ता व्यक्त गर्दै उच्च ट्यारिफ नीतिको पुनरावलोकन गर्न आग्रह गरेका छन्, भने मोदीले पारस्परिक सम्बन्ध सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

ट्रम्पले भारतले अमेरिकी तेल र प्राकृतिक ग्यासको आयात वृद्धि गर्न लागेको जानकारी गराउँदै यसले अमेरिका-भारत व्यापार सम्बन्धलाई नयाँ उचाइमा लैजाने दाबी गरे। वार्ताका क्रममा अमेरिकाबाट भारतले एफ-३५ लडाकु विमान खरिद गर्ने विषयमा समेत छलफल भएको भए पनि भारतीय अधिकारीहरूले यसबारे तत्काल कुनै ठोस निर्णय नभएको प्रष्ट पारेका छन्। भारतको ऊर्जासुरक्षालाई मजबुत बनाउन अमेरिका एक प्रमुख साझेदार बन्ने संकेत गरेको छ।

दुवै नेताबिच चीनको बढ्दो प्रभावबारे पनि छलफल भएको अनुमान गरिएको छ। ट्रम्पले भारत-चीन सीमा विवाद सुल्झाउन अमेरिका सहयोग गर्न तयार रहेको बताएका छन्। मोदीले भने भारत कुनै पनि पक्षमा नलाग्ने स्पष्ट पार्दै आफ्नै परराष्ट्र नीतिलाई प्राथमिकता दिने बताए।

प्रधानमन्त्री मोदीले वार्तापछि टेस्लाका सीईओ एलन मस्कसँग समेत भेट गरेका छन्। भारतमा टेस्लाको विद्युतीय सवारी उत्पादन तथा मस्कको इन्टरनेट सेवा स्टारलिंक भित्र्याउने सम्भावनाबारे छलफल भएको बुझिएको छ।

यसैबिच, वार्तापछि आयोजित पत्रकार सम्मेलनमा भारतीय व्यवसायी गौतम अदानीसम्बन्धी प्रश्न उठ्दा मोदी असन्तुष्ट देखिएका थिए। अमेरिकी न्याय मन्त्रालयले अदानी समूहविरुद्ध अनुसन्धान गरिरहेको छ भन्ने प्रसंग आउँदा मोदीले उक्त विषय छलफलको एजेन्डा नभएको भन्दै थप प्रतिक्रिया दिन अस्वीकार गरे।

ट्रम्प-मोदी वार्ताले अमेरिका-भारत सम्बन्धलाई नयाँ मोडमा पु¥याएको छ। यद्यपि, व्यापार असन्तुलन, ट्यारिफ विवाद तथा रणनीतिक सहकार्यका विषयमा अझै धेरै काम गर्न बाँकी रहेको देखिन्छ। आगामी महिनाहरूमा यी सम्झौताहरूको प्रभाव कसरी देखिन्छ भन्ने कुराले दुई देशबिचको सम्बन्धको दिशा निर्धारण गर्नेछ।