धादिङ र चितवनमा खाद्य अनुगमनः म्याद सकिएका सामान नष्ट, व्यवसायीलाई लाखौं जरिवाना


काठमाडाैँ । धादिङ र चितवनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले मोबाइल फुड ल्याब भ्यान सञ्चालन गर्दै विभिन्न होटल, रेस्टुरेन्ट, किराना पसल तथा खाद्य बजारको निरीक्षण गरेको छ।

विभागको र्‍यापिड रिस्पोन्स टिमले माघ ३० देखि फागुन ३ गतेसम्मको अनुगमनका क्रममा ३० वटा होटल तथा रेस्टुरेन्ट, पाँच मिठाई पसल, पाँच किराना पसल र खाद्य बजारका खाद्य पदार्थ परीक्षण गर्दै नमूना संकलन गरेको हो।

अनुगमनका क्रममा धादिङको रोराङ गाउँपालिकास्थित सिटी स्टोर्समा उपभोग्य मिति सकिएका सिन्थेटिक भिनेगार, ब्रेड तथा कृत्रिम रङ जफत गरी नष्ट गरिएको छ। सो स्टोर्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार रु ५० हजार जरिवाना गरिएको छ। यस्तै, हिल टप रेस्टुरेन्टमा म्याद सकिएका मरमसला बरामद गरी नष्ट गरिएको छ भने सोही ऐनअनुसार रु ५० हजार जरिवाना गरिएको छ। त्रिशूली रिभर साइडमा लेबल विवरण उल्लेख नभएका घिउ तथा ब्रेड जफत गरी रु ५० हजार जरिवाना तोकिएको छ।

चितवनको भरतपुरस्थित महानगर फलफूल तथा तरकारी बजारमा संकलित विभिन्न १८ प्रकारका तरकारी तथा फलफूलको विषादी परीक्षण गर्दा स्वास्थ्यका लागि हानिकारक नदेखिएको विभागले जनाएको छ। टोमाटो केचप, प्रशोधित सूर्यमुखी तेल र तोरीको तेलमा गरिएको परीक्षणमा पनि मापदण्डअनुसारको गुणस्तर पाइएको छ।

भरतपुर -२९, दासढुंगास्थित अशोका रिसोर्ट प्रा.लि.मा म्याद सकिएका मरमसला तथा पेय पदार्थ जफत गरी नष्ट गरिएको छ भने सो रिसोर्टलाई रु १ लाख जरिवाना गरिएको छ। त्यसैगरी, मनकामना दर्शन प्रा. लि.मा उपभोग्य मिति सकिएका प्रशोधित दूध जफत गरी नष्ट गरिएको छ र सो कम्पनीलाई रु २ लाख १० हजार जरिवाना गरिएको छ।

फागुन ३ गते धादिङबेसी, नीलकण्ठ नगरपालिका-३ मा विभिन्न किराना तथा मिठाई पसलमा गरिएको अनुगमनमा पनि म्याद सकिएका र अखाद्य वस्तु जफत गरिएको छ। विभागका प्रवक्ता मोहन कृष्ण महर्जनका अनुसार खाद्य सुरक्षामा लापरबाही गर्ने व्यवसायीलाई कानुनी कारबाही गर्ने प्रक्रिया अघि बढाइएको छ। विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै अनुगमनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।