नेपालमा नास्तिकता प्रवद्र्धन गर्न १ सय मिलियन अमेरिकी डलर खर्च भएको कुरा छ, छानविन होस्ः राजेन्द्र लिङदेन


काठमाडाैँ ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले नेपालमा धर्म निरपेक्ष कायम गर्न अमेरिकाले १ सय मिलियन डलर खर्च गरेको बारेमा अनुसन्धान गर्न माग गरेका छन् ।

मंगलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अमेरिकाको विदेश मामिला समितिका सभापति ब्राइण्ड माक्सले ५ मिलियन डलर अमेरिकाले आफ्नो एजेन्सीमार्फत नेपालमा नास्तिकता प्रवद्र्धनका लागि खर्च गरेको अभिव्यक्ति दिनुभएको र अमेरिकाका सभामुख माइक जोर्ड स्वयंले पनि करिव १ सय मिलियन डलर नेपालमा नास्तिकता फैल्याउन खर्च गरेको कुरा बताएको भन्दै यसबारेमा नेपाल सरकारले अनुसन्धान गर्नुपर्ने बताए ।

उनले निष्पक्ष अध्ययन गरी नास्तिकता फैल्याउनका लागि रकम लिनेहरुको नाम सार्वजनिक गर्न माग गरे । “नेपालमा धर्म निरपेक्ष कायम गर्नका लागि, संविधानमा धर्म निरपेक्ष राज्य लेख्नका लागि ठूलो पैसाको चलखेल भएको थियो र पार्टी नेताहरु विक्री भए भनेर बजारमा कुरा हुन्थ्यो । त्यसको कुनै प्रमाण थिएन । पछिल्लो समय अमेरिकाकै एक सांसदले ब्राइण्ड माक्स जो त्यहाँका विदेश मामिला समितिका सभापति पनि हुनुहुन्छ । उहाँ रिपब्लिकन पार्टीबाट प्रतिनिधित्व गर्नुहुन्छ । उहाँले नेपालमा नास्तिकता प्रवद्र्धन गर्न ५ मिलियन डलर खर्च भएको छ । म सरकारसँग माग गर्न चाहन्छु, यसमा कोको संलग्न छन्, कसको संलग्नता छ त्यसमा छानविन होस् । सरकारले यसलाई सुनेर छोड्ने काम नगरोस्,”उनले भने ।