ओडिसा राज्यका विश्वविद्यालयमा एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थाका लागि प्रदान गर्ने एनओसी रोक्ने चेतावनी दिएको छ । ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि मन्त्रालयले भविष्यमा एनओसी दिन रोक्ने चेतावनी दिएको हो ।

बुधबार शिक्षा मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै विश्वविद्यालयको घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्याल /शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र ९एनओसी० प्रदान गर्ने कार्य स्थगित गर्ने चेतावनी दिँदै गम्भिर ध्यानार्कषण गराएको छ ।

विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियम पालना गरी नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाई अध्ययन गर्न पाउने विश्वव्यापी मान्यताको विपरीत अध्ययनरत रहिरहेको अवस्थामा विश्वविद्यालय प्रशासनबाट विद्यार्थीहरूप्रति भएको व्यवहार निन्दनीय रहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विद्यार्थीहरूले निर्बाध रूपमा अध्ययन गर्न पाउने अवस्थाको सुनिश्चितताका लागि कूटनीतिक तवरबाट परराष्ट्र मन्त्रालयमार्फत मन्त्रालयले निरन्तर पहल गरिरहेको जनाएको छ । त्यसका अतिरिक्त सो घटनाबाट प्रभावित विद्यार्थी तथा अभिभावकलाई आकस्मिक सहजीकरण एवं सहायता प्रदान गर्न सहायता कक्ष समेत स्थापना गरेको विज्ञप्तीमा उल्लेख छ ।

केआईआईटीमा अध्ययनरत नेपाली छात्रा लम्सालको रहस्यमय मृत्यु भएको थियो । लम्सालको मृत्युपछि विश्वविद्यालयमा अध्यनरत नेपाली विद्यार्थीहरुलाई अपमानजन व्यवहार गरी होस्टेलबाट बाहिर निकालिएको थियो । यस विषयमा विश्वविद्यालयले माफि मागिसकेको भएपनि सयौ नेपाली विद्यार्थी परिक्षाको मुखैमा घर फर्किन बाध्य बनेका छन् ।