प्रलोभनमा परेर थाइल्याण्ड र म्यानमार नजान परराष्ट्र मन्त्रालयको आग्रह


काठमाडौँ । नेपाल सरकारको परराष्ट्र मन्त्रालयले थाईल्याण्ड, म्यानमार, कम्बोडिया, र लाओसमा नेपाली नागरिकलाई जबरजस्ती अवैध कार्यमा लगाउने गिरोह सक्रिय रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले जारी गरेको पछिल्लो यात्रा सम्बन्धी सूचनामा आकर्षक तलब र सुविधा दिने प्रलोभन देखाई ठगिने घटनाहरू बढ्दै गएको उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार, सूचना प्रविधि (आईटी) क्षेत्रमा रोजगारीको अवसर दिएको बहानामा नेपालीलाई गैरकानुनी रूपमा मानव तस्करी गरी जबरजस्ती कार्यमा लगाइने गरेको छ। यसअघि, २०७९ पौष महिनामा यस्तै खतराप्रति सचेत गराउन परराष्ट्र मन्त्रालयले यात्रा सूचना जारी गरेको थियो, जसले केही समयका लागि त्यस्ता गतिविधिमा कमी ल्याएको थियो। तर पछिल्लो समय फेरि नेपालीहरू ठगीमा पर्ने क्रम बढिरहेको छ।

विशेष गरी, वैदेशिक रोजगार वा अध्ययनका क्रममा युएई लगायतका मुलुकहरूमा रहेका नेपालीलाई गिरोहले विभिन्न प्रलोभन देखाएर बैंकक र यांगुन विमानस्थलमा अवतरण गराउने, त्यसपछि म्यानमारको कायिन प्रान्तको म्यावडीमा लैजाने र त्यहाँ अवैध कार्यमा संलग्न गराउने गरिएको मन्त्रालयले जनाएको छ। ठगिएका नेपालीहरूले उद्धारका लागि बैंककस्थित नेपाली दूतावासमा आवेदन दिने क्रम तीव्र रूपमा बढिरहेको मन्त्रालयको भनाइ छ।

परराष्ट्र मन्त्रालयले हाल मानव तस्करीका गिरोहहरूले कम्बोडिया, लाओस, र म्यानमारमा नेपाली नागरिकलाई जबरजस्ती अवैध कार्यमा लगाउने, राहदानी खोस्ने, १२ देखि १३ घण्टासम्म काम गर्न बाध्य पार्ने, चरम यातना दिने र तलब नदिने जस्ता अमानवीय गतिविधिहरू गरिरहेको जानकारी दिएको छ।

अनलाइन जुवा, कल सेन्टर-फ्रड, क्रिप्टोकरेन्सी ठगी जस्ता गैरकानुनी कार्यमा संलग्न शंकास्पद आईटी कम्पनीहरूले बैंककमा रोजगारीको अवसरका नाममा नेपालीहरूलाई फसाउने गरेको मन्त्रालयको रिपोर्टमा उल्लेख छ। सामाजिक सञ्जाल तथा अनौपचारिक माध्यमहरूबाट आएका रोजगारीका प्रस्तावहरू नक्कली हुने भएकाले यस्ता प्रलोभनमा नपर्न मन्त्रालयले आग्रह गरेको छ।

नेपाल सरकारले यस्ता गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गरिने चेतावनी दिँदै, वैदेशिक रोजगारीको नाममा ठगीमा नपर्न, भिजिट भिसामा यात्रा गरेर रोजगारी खोज्न नजान, र रोजगारीको प्रस्ताव स्वीकार गर्नु अघि सम्बन्धित नेपाली नियोगमार्फत रोजगारदाता तथा कम्पनीबारे पर्याप्त जानकारी लिन अनुरोध गरेको छ।

थाईल्याण्ड, म्यानमार, कम्बोडिया, लाओस लगायतका मुलुकहरूमा जान चाहने नेपाली नागरिकलाई परराष्ट्र मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।