टायलमा आत्मनिर्भर नेपाल, ८० प्रतिशत माग स्वदेशी उत्पादनले पूरा गर्ने


काठमाडाैँ ।टायल उद्योगमा नेपाल आत्मनिर्भर बन्दै गएको छ । भृकुटीमण्डपमा जारी १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागी उद्यमीहरुले यस्तो बताएका हुन् । प्राइम सेरामिक्स प्रा.लि.का सञ्चालक आशिष गढले नेपालमा हाल ६ वटा टायल उद्योगले टायल उत्पादन गरेर नेपाललाई आत्मनिर्भरतातर्फ लगिरहेको बताए । गत वर्षसम्म भारतबाट १४ अर्ब रुपैयाँ बराबरको टायल आयात हुने गरेकोमा यस वर्षदेखि ८० प्रतिशत माग स्वदेशी उत्पादनले धान्ने दाबी गर्नुभयो । स्वदेशी उत्पादन फस्टाएकाले मूल्यमा २० देखि ३० प्रतिशत घटेको उनको भनाइ छ ।

लेमिनार सेरामिक्सका निर्देशक आशुतोष खेतानले नेपालको टायल उत्पादनले अन्तर्राष्ट्रिय बजारमा उपस्थिति देखाउने समय आएको बताए। उनले अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा टायल उत्पादन भइरहेकाले भारत, चीन, अमेरिकालगायत युरोपिएन देशहरुमा समेत निर्यातका लागि योजनाहरु बनाइरहेको दाबी गरे ।

उनले भने, “इण्डियाबाट नेपालमा आजको दिनमा टायल किन्नुहुन्छ भने पहिलाको भन्दा आयातमा २० देखि २५ प्रतिशत सस्तो छ । अब हामी इम्पोर्टमात्रै होइन एक्पोर्ट गर्ने क्षमता लिएर अगाडि बढिरहेका छौँ । जुन फुल बढी टायल एक्जटिक सर्फेसेजहरु छ ति सर्फेसेजहरू इण्डियामा पनि धेरै कम फ्याक्ट्रीले मात्र बनाउँछ । अबको डेटमा हामी इण्डिया चाइना, युरोप र अमेरिकासम्मको कुरा गरिराछौँ । हाम्रो क्वालिटीले इन्टरनेशनल इस्टाण्डर्ड मिट गरिनै रहेको छ । अब इन्टर्नेश्नल मार्केकमा पनि प्रेजेन्ट देखाउने समय आयो ।”

निमाटोका निर्देशक जयश जैनले आफ्नो कम्पनी नेपालबाट भारतमा टायल निर्यात गर्ने पहिलो कम्पनी बनेको बताए । उनले निमाटोेले दैनिक १८ हजार स्क्वाएर फिट टायल उत्पादन गरिरहेको भन्दै आफ्नो कम्पनी नेपालको सबैभन्दा ठूलो टायल उत्पादन गर्ने कम्पनी बनेको दाबी गरे । स्वदेशी टायल उत्पादनका कारण उपभोक्ताले सस्तो मूल्यमा टायल खरिद गर्न पाएको उनको भनाइ छ ।

नेपाल सेरामिक्सका सञ्चालक शम्भुनाथ झाले टायल निर्यातका लागि प्लान्ट थप्ने तयारी गरिरहेको बताउनु भयो । अहिलेको प्लान्टमा उत्पादन भइरहेका टायल स्वदेशकै माग धान्न ठिक्क भएको उनको भनाइ छ । भारत र चीनमा गएर कच्चा पदार्थका बारेमा गहिरो अध्ययन अनुसन्धान गरेर नेपालमा टायल उद्योग शुरु गरेको उनले बताए । उनले नेपालको वार्षिक टायलको माग २ हजार हरोड रहेकाले पाँचदेखि ६ वटा उद्योग राम्रोसँग चल्नसक्ने बताए ।

केही वर्षअघिसम्म एकाधिकाररुपमा भारतबाट आयात हुने टायल हाल स्वदेशकै उत्पादनले आत्मनिर्भर बन्न थालेको छ । नेपालमा उद्योग स्थापनाले स्थानीयले रोजगार पाउने मात्र नभइ विदेशी मुद्रा पनि विदेशिनबाट जोगिएको छ । टायल उद्योगलाई थप उत्पादनशिल बनाएर निर्यात गर्नसके विदेशी मुद्रा आर्जनको पनि महत्वपूर्ण स्रोत बन्नसक्ने उद्यमी बताउँछन् ।