नेपालको अटोमोबाइल क्षेत्रमा विभाजनः रोक्न सकेनन् करण र आकाशले नयाँ संस्थाको गठन


काठमाडौँ । नेपालको अटोमोबाइल व्यवसायीहरू अन्तत विभाजित भएका छन‍् । सवारी आयातकर्ता व्यवसायीहरू मिलेर फागुन ९ गते त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा गएर नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन नामक नयाँ संस्थाको दर्ता गरेसँगै ५० वर्षको इतिहास बोकेको नाडा औपचारिक रूपमा विभाजित भएको हो ।

गत वर्ष पुसमा भएको निर्वाचनको समयमा सुरूवातमा सिजी होल्डिङ्सका प्रबन्ध निर्देशक तथा हाल नाडा अध्यक्ष करण चौधरी र गोल्छा अर्गनाइजेसनको तर्फबाट व्यवसायी आकाश गोल्छाले अध्यक्ष पदको लागि उम्मेदवार दिएका थिए । पूर्वअध्यक्षहरूको लामो रस्साकस्सीपछि नाडाको विधान नै संशोधन गरि गोल्छालाई वरिष्ठ उपाध्यक्ष बनाएर अर्को पटक स्वतः अध्यक्ष हुने व्यवस्था समेत बनाएका थिए । अन्य अटो व्यवसायीहरूले सो कुराको हालसम्म पनि विरोध गर्दै आएका छन् जुन नयाँ संस्था खोल्नु अर्को मुख्य कारण पनि हो ।

संस्था खोल्नुको कारण के ?

देशभर छरिएर रहेका अटोमोबाइल्स् व्यवसायीहरूको हकहितका लागि काम गर्ने उद्देश्य अनुरूप स्थापन भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले योजना अनुरूप काम नगरेको भनेर केही वर्षदेखि विवाद हुँदै आएको थियो ।
नाडाका लागि बेला बेलामा उठ्ने विषय भनेको सवारी उद्योग स्थापना गर्ने, खुल्ला सिमानबाट हुने अवैध आयातलाई रोक्नेदेखि अन्य विभिन्न विषयहरू छन् ।

नयाँ संस्थाका एक सदस्यका अनुसार स्वदेशमा नै सवारी उद्योग स्थापना गर्न र अटोमोबाइल्स क्षेत्रमा देशलाई केही हदसम्म आत्मनिर्भर बनाउनका लागि सो संस्था स्थापना गरिएको हाे । “हाल गाडी तथा मोटरसाइकल आयातकर्ताहरू मात्र नयाँ संस्थामा संलग्न हुनेछन् । नाडा स्वतन्त्र रूपमा अगाडि बढ्नेछ भने नयाँ संस्था भिन्न उद्देश्यका साथ स्थापना गरिएको हो । नाडा हाम्रो आफ्नै संस्था हो,“उनले स्पष्ट पार्दै भने, “तर कामलाई अझ प्रभावकारी बनाउन नयाँ संस्था खोलिएको हो ।”

नाडाभित्र पनि स्वदेशमै सवारीसाधनको एसेम्बल उद्योग स्थापना गर्ने विषय उठिरहन्छ । पछिल्ला वर्षमा त झन् सरकारले बजेटमै यस्ता उद्योग लगाउँदा उद्योगीलाई विभिन्न छुट र सहुलियत प्रदान गर्नेसम्मका योजना अघि सार्न थालिसकेको छ । यसलाई सहजीकरण गर्न नाडालाई चुनौती देखिएपछि नयाँ संस्था मार्फत सो एजेण्डाहरू अघि बढाउन खोजेको ती व्यवसायको भनाई छ ।

हरेक दुई वर्षमा हुने नाडा निर्वाचन नजिकिदैँ गर्दा पनि नाडाको नेतृत्व गर्नको लागि अध्यक्षको उम्मेदवार दिने क्रममा पनि नाडा विघटन गर्ने बहस निरन्तर चल्ने नै गर्छ । नेपालको निजी क्षेत्रका संघ तथा सङ्गठनहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा वर्तमान र विगतमा पटक पटकको नेतृत्व नाडाकै पूर्व अध्यक्षहरूले सम्हालिरहेका छन् । महासंघका अध्यक्ष शोखर गोल्छा र अन्य पूर्वअध्यक्षहरू तथा पदाधिकारी कुनै समय नाडाकै अध्यक्ष थिए । विगतको नेतृत्वको सफलताका कारणले पनि नाडाको नेतृत्व चयनको विषयमा धेरैको चासो हुने गर्छ ।

नेतृत्व चयनको तयारी

नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ संस्थाको नेतृत्व चयन गर्ने तयारी भइरहेको छ, जसमा विभिन्न गाडी तथा मोटरसाइकल आयातकर्ता कम्पनीहरू आबद्ध हुने भएका छन् । व्यवसायीहरूका अनुसार नाडासँग प्रतिस्पर्धा गर्नेभन्दा फरक उद्देश्यका साथ नयाँ संस्था अघि सारिएको हो, जसले अटोमोबाइल उद्योगको व्यवसायिक हित, बजार व्यवस्थापन तथा नीतिगत सहजीकरणमा काम गर्नेछ ।
संस्थामा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल, फोर्ड गाडीको नेपालका लागि आधिकारिक वितरक जिओ फोड, बीवाइडी गाडीको वितरक साइमेक्स इंक, होन्डा गाडी तथा मोटरसाइकलको आधिकारिक वितरक स्याकार ट्रेडिङ, ओमोडा एण्ड जेको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स र विभिन्न अन्य ठूला व्यवसायिक समूहहरू आबद्ध हुनेछन् ।

हालका लागि गाडी र मोटरसाइकल आयातकर्ताहरू मात्र संलग्न हुने योजना बनाइएको छ । व्यवसायीहरूका अनुसार नाडा र नयाँ संस्थाले आ–आफ्नो कार्यक्षेत्रमा रहेर काम गर्नेछन् ।

५० वर्षको इतिहासमा धक्का

नेपालको अटोमोबाइल इतिहास लामो छैन । राणाहरूले काठमाडौँ उपत्यकामा मोटर गाडी भित्राउँदा कुनै व्यावसायिक सोच थिएन, केवल उनीहरूको विलासी जीवनशैलीको एक हिस्सा थियो । नेपालमा गाडी भित्रिएको तीन दशकपछि मात्र अटोमोबाइल व्यवसायिक रूपमा स्थापित हुन थाल्यो । यही क्रममा विसं. २०३२ साल असोज १० गते तोलाराम दुगडको अध्यक्षतामा ‘नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन’ (नाडा) स्थापना भएको थियो । विसं.२०३४ सालमा संघसंस्था दर्ता ऐन लागु भएपछि नाडा पनि त्यही अन्तर्गत दर्ता भयो ।

त्यसबेला व्यवसायको दायरा पनि सानो थियो र त्यसमा संलग्न व्यक्तिहरू पनि कम थिए । जम्मा १८ जनाबाट सुरू भएको नाडाको सदस्य सङ्ख्या हाल २०८१ सालसम्म आइपुग्दा करिब ४ हजार पुगिसकेको छ । काठमाडौँबाट सुरू भएको नाडाले यी चार दशकमा अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो पहिचान बनाइसकेको छ । सुरूका दिनहरूमा भन्सार मूल्याङ्कन, पार्टपुर्जा आयातको झन्झटजस्ता समस्याहरू समाधान गर्ने उद्देश्य राखेर अघि बढेको नाडाले विसं.२०५५ सालदेखि ‘नाडा अटो शो’ को आयोजना गरेर आफ्नो प्रभाव बढाएको थियो भने अहिले अटोमोबाईल क्षेत्रले मुलुकका लागि ९० अर्ब रुपैयाँ भन्दा बढी राजस्व र १० लाख प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारको योगदान गर्दै आएको छ ।

सरकारपछि सबैभन्दा ठुलो सञ्जाल र संगठन रहेको नेपाल उद्योग वाणिज्य महासंघको शक्तिशाली वस्तुगत संस्था समेत हो, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल । पछिल्लो समय नाडाभित्रको सन्तुलन क्रमशः बिग्रँदै गएको छ । अटो मोबाइल्स क्षेत्रको व्यापार विस्तार भए पनि नेतृत्व तहमा पुरानै मानसिकता हावी रह्यो ।

नीतिगत पैरवी गर्ने, व्यवसायीहरूको हकहित रक्षा गर्ने जस्ता विभिन्न दीर्घकालीन योजनाहरूका साथ स्थापना भएकोे नाडाको भूमिका धमिलो बन्दै गयो भने सरकारसँग प्रभावकारी संवाद गर्न नसक्ने, प्रदूषण मापदण्ड जस्ता महत्त्वपूर्ण विषयमा स्पष्ट अडान लिन नसक्ने, र व्यवसायीहरूको विविध माग र समस्याहरू सरकार समक्ष लबिङ गरेर समाधान गर्ने पाटोमा असफल हुँदा ठुला आयातकर्ताहरू असन्तुष्ट भए र नयाँ संस्था खोलेका हुन् ।

अध्यक्ष चौधरीको कार्यकालमा चुनौती

नेपालको अटोमोबाइल इतिहासलाई हेर्दा, व्यवसायीहरूले प्रारम्भिक चरणदेखि नै ठुलो संघर्ष गर्दै आजको सशक्त अवस्थासम्म पुर्‍याएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसनले सुरूवाती दिनमा संस्थागत समस्याहरू सामना गरे पनि अहिले बलियो सङ्गठनका रूपमा उभिएको छ । पछिल्लो समय देखिएको आन्तरिक विभाजनले सङ्गठनको प्रभावकारिता घट्ने सङ्केत दिएको छ भने एक वर्ष कार्यकाल बिताए र बाकीँ एक वर्षको कार्यकालाई थप प्रभावकारी बनाउन लागि परेका चौधरीलाई एक किसिमले चुनौती समेत थपिएको छ ।

नयाँ नेतृत्वको जिम्मेवारी केवल व्यवसायीहरूलाई एकजुट गर्ने मात्र होइन, विद्युतीय सवारीसाधनलाई प्रवर्धन गर्दै चारपाङ्ग्रे एसेम्बल उद्योगको भविष्य सुनिश्चित गर्ने विषयमा केन्द्रित हुने देखिएको छ । नेपालमा विद्युतीय सवारीसाधन प्राथमिकतामा परेसँगै आगामी वर्षहरूमा देशमै एसेम्बल उद्योग स्थापना गर्ने कि व्यवसायलाई मात्र आयातमा सीमित राख्ने भन्ने बहस चलिरहेको छ । अहिले गठन भएको संस्थाको नेतृत्वले नाडाको भविष्य निर्माणमा कस्तो भूमिका खेल्छ भन्ने चासो सबै व्यवसायीहरूलाई छ ।

त्यसैगरि नयाँ संस्था गठनले गर्दा प्रश्न उठिरहेको छ-नाडाले यो विभाजनलाई कसरी व्यवस्थापन गर्छ? के सङ्गठनले पुरानो प्रतिष्ठा जोगाउँदै अघि बढ्छ, वा नयाँ संस्था नै शक्तिशाली हुँदै जान्छ ? नयाँ संस्थाका पक्षधरहरू भन्छन्, “नाडाको संरचना पुरानो ढर्रामा चलेको छ । व्यवसायको वास्तविक हितका लागि नयाँ संरचना आवश्यक भएकाले हामी नयाँ अभियानमा लागेका हौं ।” नाडाका पुराना सदस्यहरू भने यसलाई व्यापारिक शक्ति विभाजनको अस्वस्थ रणनीति ठान्छन् ।

यससँगै अटोमोबाइल क्षेत्र दुई धारमा बाँडिएको देखिन्छ-एकातिर परम्परागत नाडा, जसले लामो संघर्ष गर्दै संस्थागत पहिचान बनाएको छ । अर्कोतिर नयाँ संस्था, जसले फरक संरचना, फरक रणनीति र नयाँ उद्देश्यसहित अगाडि बढ्न खोजिरहेको छ । अबको लडाइँ नेतृत्वको मात्र होइन, प्रभाव र रणनीतिक पकडको हुनेछ । नयाँ संस्थाले कति छिटो आफूलाई स्थापित गर्न सक्छ, र नाडाले आफ्नो प्रभाव कसरी जोगाउँछ- यसैबाट नेपालका अटोमोबाइल व्यवसायीहरूको भविष्य तय हुनेछ ।