राजनीतिक दलको आयव्यय: कांग्रेस, माओवादी घाटामा चल्दा नाफामा एमाले


काठमाडौँ । नेपालका प्रमुख राजनीतिक दलहरूको आर्थिक स्थिति सार्वजनिक भएको छ । जसअनुसार नेकपा एमालेले गत आर्थिक वर्ष (२०८०\०८१) मा सबैभन्दा धेरै आम्दानी गर्ने दल बनेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ठूलो घाटामा देखिएका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको गत आर्थिक वर्ष (२०८०\०८१) काे विवरणअनुसार एमालेले १४ करोड ७१ लाख ५ हजार ८०९ रुपैयाँ आम्दानी गर्दै अन्य दलहरूभन्दा निकै अगाडि देखिएको छ। खर्च ७ करोड ५८ लाख ३८ हजार ३ रुपैयाँ मात्र पुगेकाले एमालेले ६ करोड १३ लाख ६७ हजार ८०६ रुपैयाँ नाफा गरेको छ।

तर नेपाली कांग्रेस भने आर्थिक रूपमा कमजोर देखिएको छ। कांग्रेसले २ करोड ५९ लाख ८ हजार ७७५ रुपैयाँ आम्दानी गरे पनि खर्च ४ करोड ९१ लाख ५६ हजार ३७५ रुपैयाँ पुगेकाे छ । याे हिसाबले हेर्दा २ करोड ३४ लाख ४७ हजार ६०० रुपैयाँले घाटामा गएको छ।

यस्तै, छोटो समयमा लोकप्रियता कमाएको रास्वपाले ३ करोड ७९ लाख ५९ हजार ४८७ रुपैयाँ आम्दानी गरे पनि खर्च ६ करोड ५० लाख १७ हजार ७८ रुपैयाँ पुगेकाे छ भने २ करोड ७० लाख ५७ हजार ५९१ रुपैयाँले घाटा बेहोर्नुपरेको छ।

नेकपा (माओवादी केन्द्र) को आम्दानी १ करोड ८६ लाख ५३ हजार १४६ रुपैयाँ भए पनि खर्च उस्तै रहेकाले घाटा २ हजार ४४४ रुपैयाँ मात्र देखिएको छ। एकीकृत समाजवादीले ४ करोड २४ लाख ५३ हजार ६६९ रुपैयाँ आम्दानी गरे पनि खर्च ४ करोड ५७ लाख ४० हजार ८५८ रुपैयाँ पुगेपछि ३२ लाख ८७ हजार १६३ रुपैयाँले घाटा देखिएको छ।

जनमत पार्टीले १ करोड १८ लाख ८१ हजार ९४३ रुपैयाँ आम्दानी गरे पनि खर्च १ करोड १९ लाख ११ हजार ३३३रुपैयाँ पुगेपछि २९ हजार ३९० रुपैयाँ घाटामा देखिन्छ ।