काठमाडौँ। हिजो (शनिवार) लामो समयपछि देशका विभिन्न भागमा परेको हल्का हिउँदे वर्षा र हिउँले किसानहरूलाई केही राहत दिएको छ। वर्षाले कृषि क्षेत्रमा उत्साह थपेकाे र लामो समयदेखि वर्षा र हिउँकाे पर्खाइमा रहेका किसानले आशाको किरण ल्याएको भन्दाे खुसी व्यक्त गरेका छन् ।
नेपालमा अघिल्लो दुई वर्षको हिउँद सुक्खा रहेको थियो र यस वर्ष पनि पानी नपरी सुक्खा हुने सम्भावना गहिरिएको थियो। यद्यपि, हिजोको वर्षाले थोरै भए पनि किसानलाई राहत दिएकाे छ ।
नेपालका मौसमी पात्रो अनुसार मंसिर १५ देखि फागुन १५ सम्मको अवधिलाई हिउँदे यामको रूपमा लिइन्छ। खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी दुई वर्षदेखि हिउँदमा उल्लेखनीय वर्षा नभएको भन्दै यस वर्ष पनि हिउँदमा नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने वर्षा नभएको बताउँछन् ।
उनका अनुसार केही दशक अघि र हालको मौसम प्रणालीमा धेरै भिन्नता आउँदा समग्र कृषि क्षेत्रलाई ठूलो असर पारेका छ भने उत्पादनमा कमी आउँदा आयातमा समेत वृद्धि भएको छ । हिउँदमा साेचे जसरी पानी नपरे नेपालको कृषि प्रणाली, जलवायु चक्र र अर्थ प्रणालीमा प्रत्यक्ष र गहिरो असर गर्ने अधिकारीको भनाइ छ ।
गहुँ, जौ, तोरी, केराउ जस्ता बाली हिउँदे वर्षामै निर्भर हुन्छन् । वर्षा नहुँदा चिस्यानको कमीले खेतबारीमा छरेको अन्न नै उम्रन सक्दैन । ढिलो गरी उम्रे पनि यसले अपेक्षाअनुसारको उत्पादन दिन सक्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी प्रवक्ता मतिना वैद्य जोशी बताउँछिन् ।
उनले भनिन्, “नेपालमा धान, मकै पछिको प्रमुख बाली गहुँ हो जुन पूर्णरूपमा हिउँदे वर्षामा निर्भर रहन्छ । सतही सिँचाइ भन्दा पनि आकाशे पानीको प्रभाव धेरै राम्रो र उत्पादक मानिन्छ । तर ढिलाे हिउँदे वर्षा र साेच अनुरुप वर्षा नहुँदा यसकाे उत्पादनमा कमी आउँछ । ’’
नेपालमा हुने वर्षाको ८ देखि १० प्रतिशत वर्षा हिउँद याममा हुने बताइन्छ । अंग्रेजी महिनाको जनवरीमा ६० मिलिमिटर वर्षा हुनुपर्छ भन्ने मत मौसमविद्हरूको छ । नेपालको कृषि क्षेत्र प्रायः मौसमको वरिपरी घुम्दछ र यसले कृषकहरूको समृद्धि र उत्पादकत्वमा ठूलो भूमिका खेल्दछ। हिजो परेको हिउँ र वर्षाले विभिन्न कृषकहरूको लागि खाद्यान्न र बालीको राम्रो उत्पादनको सम्भावना केही मात्रामा बढाएको खाद्यका लागि कृषि अभियानका संयोजक अधिकारी बताउँछन् ।
उनले भने, “विशेष गरी तरकारी, धान, मकै र गहुँजस्ता प्रमुख कृषि उत्पादनहरूको लागि यो मौसम अनुकूल साबित भएको छ।’’ कृषि तथा पशुपन्छी मन्त्रालयलको तथ्याङ्क अनुसार पछिल्ला वर्षका धेरैजसो हिउँद खडेरीयुक्त भइरहेका छन्।
गत १८ वर्षयताको हिउँदे वर्षाको तथ्यांक अनुसार १८ मध्ये १२ हिउँदमा सरदरभन्दा कम पानी परेको छ। यसमध्ये पनि आठ वर्षका हिउँद त गत वर्ष जसरी नै अधिक खडेरीमै बितेका छन्। १८ वर्षअघि २०६२ सालको हिउँदभरि सरदर ७.१ मिलिमिटर मात्रै पानी परेको थियो।
वि.सं. २०६५ सालको हिउँदमा ११.८ मिलिमिटर, २०७४ सालको हिउँदमा पनि सरदर १६.७ मिलिमिटर मात्रै वर्षा भएको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी प्रवक्ता जाेशीका अनुसार हिजाे परेकाे केही मात्राकाे वर्षासँगै जमिनको आर्द्रता बढेकोले माटोमा पोषक तत्वहरूको वितरण र वृद्धिमा मद्दत पुर्याएको छ ।
पर्यात परेन हिउँदे पानी
जल तथा मौसम विभागले स्थान र ऋतुको आधारमा सरदर वर्षा मापन गर्छ । काठमाडौँ उपत्यकामा ६० मिलिमिटरभन्दा कम वर्षा भएको खण्डमा, त्यसलाई सरदर वर्षाभन्दा कम मानिन्छ। विभागका पछिल्ला तथ्यांकअनुसार काठमाडौँ उपत्यकामा हिउँदे वर्षा अधिकांश स्थानमा फाट्टफाट्ट मात्र भएको देखिन्छ। पश्चिमी वायुका कारण पश्चिमी नेपालका केही क्षेत्रहरूमा थोरै वर्षा र हिमपात भएको भए पनि, यसले सरदर वर्षाको तुलना गर्दा निकै कम मात्रामा वर्षा गरेको देखिएको छ ।
सामान्यतया १६ मंसिरदेखि १७ फागुनसम्मको समय हिउँदे वर्षाका लागि मापिन्छ। यस वर्ष हिउँदे मौसममा नेपालका धेरै भूभागमा वर्षा नहुनु सामान्य अवस्था बनेको छ। आजबाट हिउँदे झरी र हिमपातको गतिविधि रोकिएको छ, र मौसम विभागले नेपालभर यस समयमा पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएको जानकारी दिएको छ।
आइतवार कोशी प्रदेशका हिमाली क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका हिमाली भेगमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकीका स्थानहरूमा मौसम पूर्ण रूपमा सफा रहने अपेक्षा गरिएको छ।
पश्चिमी न्यूनचापीय प्रणाली बिहीबारदेखि सक्रिय भएको थियो, जसका कारण हालैका २४ घण्टामा नेपालभर छिटपुटदेखि मध्यम वर्षा भएको देखिएको छ। केही स्थानमा स्थानीय वायुका प्रभावले उल्लेखनीय वर्षा भएको जानकारी प्राप्त भएको छ। उदाहरणका लागि, उदयपुरको मुर्कुची बजारमा ११६.८ मिलिमिटर पानी परेको छ।
धनकुटाको मझुवाघाट र मूलघाटमा क्रमशः ९.४ र ७.२ मिलिमिटर वर्षा र अन्य विभिन्न स्थानमा पनि वर्षा भएको थियो। तर, यस वर्ष हिउँदे याममा औसतभन्दा कम वर्षा भएको छ। मंसिर १६ देखि फागुन १५ सम्मको अवधिमा केवल ११ मिलिमिटर मात्र वर्षा भएको विभागले जनाएको छ। यस वर्ष हिउँदे याममा ६०.१ मिलिमिटरको औसत वर्षा हुनेमा, यो वर्ष मात्र १८.३ प्रतिशत वर्षा भएको छ।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी मञ्च (आईपीसीसी) को सन् २०२३ को संश्लेषण प्रतिवेदनले एशियामा दीर्घकालमा धेरै वर्षा हुने, खडेरी बढ्ने, छोटो अवधिमा धेरै वर्षा हुने वा वर्षा तथा सुक्खा यामबिचको विषमतालाई अझै चर्काइदिने जस्ता असर देखापर्ने औंल्याएको छ। नेपालमा पनि हिउँदको अन्तिमतिर मात्रै पानी पर्ने वा धेरैजसो खडेरी नै हुन थालेको तथ्यांकले देखाउँछ।
के भन्छन् किसान ?
देशभर लगातारको खडेरीले बालीनाली सुक्दै गएको अवस्थामा हिजो भएको वर्षापछि देशभरका किसानहरू खुशी भएका छन् । नेपालमा हिउँदको बेला पटकपटक पानी नपरेको अवस्थामा, हिजो हिमाली क्षेत्रका केही भागमा हिउँ र पहाडी क्षेत्रमा वर्षा भएको छ।
यसले हिउँदे बाली जस्तै तोरी, मकै, फापड जस्ता बालीको लागि सहयोग पुर्याएको राष्ट्रिय कृषक समूह महासंघका संयोजक केदार कोइरालाले बताए । किसानहरूको उत्पादनमा यस वर्षको पानीले सकारात्मक प्रभाव पार्ने अनुमान उनकाे छ ।
उनले भने, “यो वर्ष पनि गएका केही वर्षजस्तो ढिलो वर्षा भएको छ जसले गर्दा अन्य बालीहरूको लागि असर परेको छ। तर नहुनुभन्दा केही मात्रामा वर्षा भएकोले हामी किसानलाई थोरै भएपनि राहत मिलेको छ।”
लगातारको खडेरीले बालीनाली सुक्दै गएको बेला भएको हिउँदे वर्षाले केही राहत भएको स्याङ्जा भीरकाेट नगरपालिका वडा नम्बर ६ का अगुवा किसान बलबहादुर थापाले बताए । “यो वर्षा हिउँदेबाली र हिउँदे फलफूलका बिरुवाका लागि निकै लाभदायक भएको छ”, उनले भने, “यो वर्ष लामो समयपछि पानी परेको छ । यो पानीले केही राहत भएको छ ।”
यो वर्षको वर्षाले हिउँदे बालीलाई मद्दत गरेको भए तापनि अन्य बालीहरूलाई असर पुर्याएको छ। किसानहरूको अनुसार, यद्यपि वर्षा कम भएको छ, तर यसले थोरै भए पनि राहत दिने भएकाले कृषि क्षेत्रमा केही सुधारको आशा गरिएको छ।
हिउँदामा वर्षा नहुँदा आगलागीका घटना बढ्दाे
हिउँदामा वर्षा नहुँदा कृषि क्षेत्रमा असर पारे जसरी गत माघ महिनामा देशभर आगलागीका कारण समेत धेरै क्षति भएको छ । जसले गर्दा १८ करोड ४८ लाख ८१ हजार २५० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालका विभिन्न प्रदेशहरूमा आगलागीका घटनाहरू उल्लेखनीय रूपमा बढेका छन्, जसले कृषि र वनक्षेत्रमा ठूलो असर पारेको छ।
प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै आगलागीका घटनाहरू कोशी प्रदेशमा भएका छन्, जहाँ १२९ स्थानमा आगलागीको घटना दर्ता गरिएको छ। मधेस प्रदेशमा ८९, लुम्बिनी प्रदेशमा ६३, सुदूरपश्चिम प्रदेशमा ४७, बाग्मती प्रदेशमा ४२, कर्णाली प्रदेशमा ३२, गण्डकी प्रदेशमा ३९ र काठमाडौँ उपत्यकामा ३७ वटा आगलागीका घटनाहरू भएका छन्।
हिउँदामा वर्षा नहुँदा कृषि क्षेत्रमा उत्पन्न भएको संकटसँगै डढेलोको प्रभाव पनि समानान्तर रूपमा बढेको छ। यी आगलागीका घटनाहरूले मात्रै पर्यावरण र वनक्षेत्रलाई नराम्रोसँग प्रभावित गरेका छैनन्, ताकि कृषि उत्पादनमा पनि ठूलो क्षति पुगेको छ। यो अवस्थामा, जलवायु परिवर्तन र मौसमका उतारचढावले नेपालको कृषि र अन्य प्राकृतिक संसाधनमा देखिएका समस्याहरूलाई अझ गम्भीर बनाएको छ।
हिउँदामा वर्षा नहुने र भएपनि थाेरै मात्रामा हुँदा कृषि क्षेत्र नभई, आगलागीको बढ्दो घटनाले समग्रमा नेपालको वातावरण र आर्थिक क्षेत्रमा थप चिन्ताको विषय बनेकाे कृषक तथा खाद्यका लागि कृषि अभियानका संयोजक अधिकारी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्