काठमाडौँ । नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग सिंहदरबारमा भेटवार्ता तथा छलफल गरेको छ।
भेटवार्तामा यही फागुन २६ र २७ गते राजधानीमा आयोजना हुने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको तयारीका विषयमा छलफल भएको थियो। छलफलमा अटोमोबाइल क्षेत्रका तालिम, दक्ष जनशक्ति निर्माण, नयाँ सम्भावनाको पहिचान, तालिम केन्द्र स्थापना, अन्तर मन्त्रालहरूबिच सहकार्य तथा दुई तहमा सहमति प्रक्रियाका विषयमा कुराकानी भएको नाडाले जनाएको छ।
मन्त्रालयका सचिव डा. कृष्णहरी पुष्कर र सहसचिव दण्डुराज घिमिरेसहित अटोमोटिभ स्किल डेभलपमेन्ट काउन्सिलका कार्यसमिति सदस्य ऋतुन्ज गुप्ता र प्रमुख कार्यकारी अधिकृत अरिन्दम लाहिरीले समेत आफ्ना धारणा राखेका थिए।
श्रम मन्त्रालयले उत्पादकत्व अभिवृद्धि, आन्तरिक रोजगारी प्रवर्द्धन, रोजगारीका चुनौतीहरूको विश्लेषण, श्रम वातावरण सुधार र नीतिगत परिमार्जनका लागि सुझाव संकलन गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागेको हो। सम्मेलनमा नाडाले आफ्नै स्टलसमेत राख्नेछ।
यसैक्रममा नाडा अध्यक्ष चौधरीको नेतृत्वमा गएको टोलीले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र नाडाबिच लागत साझेदारीमा अटोमोबाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम सञ्चालन तथा प्रशिक्षार्थीलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा छलफल गरेको छ।
यसअघि, गत जनवरी १७–२२ मा भारतको नयाँ दिल्लीमा सम्पन्न ‘भारत मोबिलिटी २०२५’ मा नेपालमा दक्ष जनशक्ति उत्पादनका लागि अटोमोटिम कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशन एसिएमए, एयसडिसि र एनएडिए बिच त्रिपक्षिय चार बुंदे सम्झौता समेत सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्