उदयपुर सिमेन्ट उद्योगका श्रमिकहरूले तीन वर्षको ज्याला नपाएको भन्दै सरकारको ध्यानाकर्षण


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उदयपुर सिमेन्ट उद्योगमा काम गरेका श्रमिकहरुले तीन वर्षदेखि ज्याला नपाएको बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले उद्योगमा काम गर्ने श्रमिकहरुमध्ये तीन जनाको मृत्यु भइसकेको र एकजना किड्नी फेल भएर अस्पताल भर्ना हुँदा समेत सरकारले ज्यालावापत पाउनुपर्ने रकम नदिएको आरोप लगाएका हुन्।

उनले अवकासमा गएको लामो समयसम्म पनि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले सार्वजनिक संस्थानमा राजनीतिक नियुक्ति गर्दा श्रमिकहरुले ज्याला पाउन नसकेको बताए ।

“उदयपुर सिमेन्ट उद्योगका ३ वर्ष अगाडि नै अवकास प्राप्त गरिसकेका एकसय तीन जना अहिलेसम्म पनि कुनै सुविधा पाएका छैनन् । जसमध्ये अशोक चौधरी, उपेन्द्र रखाल र देवी बजागाईंको मृत्यु भइसकेको छ । साथै हेमकुमार दाहाल किड्नि फेल भएर अस्पतालमा छन् । उपचार गर्न सरकारले पैसा दिएको छैन,” उनले भने ।

उनले सरकारले आफ्ना कार्यकर्ता भर्ना गर्न नपाएको कारण कुलमानलाई हटाउने खेल खेलिरहेको आरोप समेत लगाए ।