सोयाबिन तेलले बढाएको वैदेशिक व्यापार र कर्जा प्रवाह


काठमाडौँ । गत वर्षको पहिलो ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालको आयात निर्यात बढ्दै गइरहेको देखिएको छ ।

गत वर्षको पहिलो ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालको निर्यात ३१.७८ प्रतिशतले बढेको छ भने आयात ७.०६ प्रतिशतले बढेको छ ।

नेपालको व्यापार बढ्नुमा सोयाबिन तेलको मुख्य भूमिका रहेको छ ।

भारतले तेल आयात खुला गरेपछि नेपाल कच्चा पदार्थ ल्याएर त्यसलाई प्रशोधन गर्दै निर्यात गरेपछि नेपालको आयात निर्यात बढेको हो ।

गत वर्षको पहिलो ६ महिनामा ४१ करोड ५२ लाख रुपैयाँको मात्र निर्यात भएको सोयाबिन तेल चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १८ अर्ब ९१ करोड रुपैयाँको निर्यात भएको छ ।

यो नेपालको कुल निर्यातको १९.१ प्रतिशतको हिस्सा हो ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालले २४ अर्ब ४० करोड ७५ लाख रुपैयाँको क्रुड सोयाबिन आयल आयात गरेको छ ।

गत वर्षको यहि अवधिमा नेपालले ७ अर्ब ८३ लाख ९१ हजार रुपैयाँको मात्र आयात गरेको थियो ।

सोयाबिन तेलको कच्चा पदार्थको आयातको हिस्सा ३ प्रतिशत रहेको छ ।

यसको आयात गत वर्षको यहि अवधिको तुलनामा २११.४ प्रतिशतले बढेको हो ।

बैंकको कर्जा पनि यसैको कच्चा पदार्थ आयात गर्न गएको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।

एक बैंकका प्रमुख कार्यकारी अधिकृतले अहिले प्रवाह भएको कर्जा क्रुड सोयाबिन आयलको कच्चा पदार्थ आयात गर्नको लागि गइरहेको बताए ।

उनले भने, “कर्जा प्रवाह भइरहेको छ तर पछिल्लो समय भारतले सोयाबिन तेलको आयात खोलेपछि त्यसको कच्चा पदार्थ आयात गर्न कर्जा प्रवाह भएको हो । यसको कच्चा पदार्थ आयात गर्न व्यापारीले १० प्रतिशत हालेपछि बैंकले ९० प्रतिशत दिन्छ । त्यहि भर छोटो समयको लागि कर्जा प्रवाह भएको हो ।”