महालेखा परीक्षक कार्यालयमा दुई लाख पृष्ठ बढी बेरुजुका चाङ


काठमाडाैँ । महालेखा परीक्षक तोयम रायले कार्यालयमा दुई लाख पृष्ठभन्दा बढी बेरुजुका चाङ रहेको बताएका छन् ।

बिहीवार महालेखा परीक्षकको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले जनप्रतिनिधि मुलक संस्था संसदलाई बेरुजुको वार्षिक प्रतिवेदन बुझाउने गरेको बताएका हुन् । उनले कतिपय कानुनको त्रुटिका कारणले पनि बेरुजु हुने बताए । गत आर्थिक वर्षमा भएको बेरुजु र सम्बन्धित मन्त्रालयमा हालसम्म भएका बेरुजुको प्रतिवेदन हरेक वर्ष बुझाउने गरेको उनको भनाइ छ । उनले गत आर्थिक वर्ष ७४६ वटै स्थानीय तहमा भएका बेरुजु कम्युटर प्रणालीबाट सार्वजनिक गरिएको बताए ।

“वार्षिक प्रतिवेदनमा उल्लेख भएका बेरुजुको सन्दर्भमा संसदमार्फत सम्बन्धित समितिमा छलफल हुन्छ भनियो । हामीसँग करिब दुई लाख पेजभन्दा बढी बेरुजुका भोलुमहरु हुन्छन् । र हामीले त्यो भोलुममध्येबाट यो यो विषय गहण छ यो चाहिँ जनप्रतिनिधिमुलक संस्थामा जानकारी दिनुपर्छ भनेर हामीले स्थानीय तहको हकमा हामी पटक पटक छलफल गर्न नजाने भएको हुनाले जति बाँकी हुन्छ सबै स्थानीय तहको गतवर्ष हामीले ७४६ स्थानकै सार्वजनिक गर्‍यौँ । र प्रदेशको  पनि त्यसैगरी गर्‍यौँ । त्यसमा सबै विषय गर्दैनौँ । केही विषयहरूमा कानुन त्रुटि भयो कि असुल हुनुपर्छ भनेर राख्या छौँ त्यहाँ केही छलफल हुनु पर्दैन,” उनले भने ।

महालेखा परीक्षक रायले सरकारले नीतिमा कार्यक्रम राख्ने तर बजेट नछुट्याउने गर्दा पनि त्यो बेरुजुमा जाने बताए । उनले कतिपय नीतिहरूमा बजेटको व्यवस्था गरेर पनि सञ्चालन नहुने गरेको बताए । कार्यक्रम सञ्चालन नहुँदा सम्बन्धित नागरिकले सेवा नपाउने मात्रै नभइ लेखा परीक्षणमा पनि चुनौतिको विषय भएको उनको भनाइ छ । 

महालेखा परीक्षक रायले प्रतिवेदन सार्वजनिक गर्ने शिलशिलामा आफूलाई कतैबाट पनि दबाब नआएको बताए । महालेखा परीक्षकको कार्यालयले तयार पारेको मन्त्रालयगत लेखापरीक्षणको सम्पूर्ण प्रतिवेदन पनि कम्युटर सिस्टमबाट सार्वजनिक गर्ने तयारी भइरहेको उनको भनाइ छ ।