डेरी एसोसिएसन रामेछाप जिल्ला समिति गठन


काठमाडौँ । नेपाल डेरी एसोसिएसनले बागमती प्रदेशको रामेछाप जिल्लामा नयाँ समिति गठन गरेको छ।

सो समिति गठन गर्नका लागि आयोजित भेलामा बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसाद पौडेल, नेपाल डेरी एसोसिएसनका केन्द्रिय उपाध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दिवप्रसाद धमला, राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य रामभक्त दाहाल, नेपाल डेरी बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरे, केन्द्रीय पदाधिकारीहरू, बागमती प्रदेशका पदाधिकारीहरू र रामेछाप जिल्लाका दुग्ध उद्यमीहरूको विशेष उपस्थिति थियो।

समितिको गठनसँगै भानुभक्त श्रेष्ठ चिरञ्जीवी डेरी उद्योगलाई अध्यक्ष, मनोहर कुमार कार्की समृद्धि डेरी उद्योगलाई उपाध्यक्ष, किशोर पौडेललाई सचिव, केशरबहादुर खत्रीलाई कोषाध्यक्ष र बलराम मगरगोठपानी देवी उद्योगलाई सदस्यको रूपमा चयन गरिएको छ। बाँकी सदस्यहरूको चयन जिल्ला समितिले मनोनयन गर्ने कुरा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका कोषाध्यक्ष दीपक सन्जेलले जानकारी दिए।

कार्यक्रममा बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसाद पौडेलले नेपाल डेरी एसोसिएसनले सात प्रदेशमा कमिटी गठन गर्दै जिल्ला कमिटीहरूको निर्माणको प्रक्रिया जारी राखेकोमा खुशी व्यक्त गरे। उनले दुग्ध क्षेत्रको उन्नति र प्रवर्धनमा सहकार्य गर्दै अगाडि बढ्ने कुरा पनि बताए।

केन्द्रीय अध्यक्ष दाहालले नेपाल डेरी एसोसिएसनले आफ्ना सबै जिल्लाहरूमा शाखा कमिटी गठन गर्ने र दुग्ध क्षेत्रको प्रगति र उन्नतिका लागि प्रतिबद्ध रहेको बताए। नवनिर्वाचित अध्यक्ष भानुभक्त श्रेष्ठले समितिको गठन रामेछाप जिल्लामा उद्योगको संख्या वृद्धि भएपछि सम्भव भएको बताए।

बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेले प्रदेशका १३ जिल्लामा समितिहरू गठन गरिने जानकारी दिए। राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य रामभक्त दाहालले एसोसिएसनका कार्यक्रमहरू हरेक स्थानमा निरन्तर अघि बढ्ने कुरा उल्लेख गरे।

नेपाल डेरी एसोसिएसनका केन्द्रिय सदस्य निराजन कोइरालाले नेपाल डेरी एसोसिएसनको सशक्त गतिविधि र देशभरि शाखा समिति गठन गर्ने कार्यलाई जारी राख्ने कुरा बताए।

नेपाल डेरी एसोसिएसनको बागमती प्रदेश र रामेछाप जिल्लामा गठन भएको नयाँ समिति क्षेत्रीय दुग्ध उद्योगको उन्नति र प्रगति गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।