काठमाडौँ। नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले कृषि यान्त्रिकीकरण प्रवर्द्धन, नीति निर्माण र सहजीकरणका लागि सरकारलाई १६ बुँदे ज्ञापनपत्र बुझाएको छ। संघका अध्यक्ष कृष्ण शर्माको नेतृत्वको नामियाको टोलीले कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई हस्तान्तरण गरेको हो।
ज्ञापनपत्रमा कृषि यन्त्र प्रविधि तथा उपकरणहरूको गुणस्तर र सहज पहुँच सुनिश्चित गर्नुपर्ने, अनुदान प्रक्रियालाई पारदर्शी बनाउनुपर्ने, भन्सार नीतिमा सुधार गर्नुपर्ने, व्यवसायी तथा कृषकलाई आवश्यक सहुलियत उपलब्ध गराइनुपर्ने लगायतका विषय समेटिएको छ। साथै, ‘एक पालिका, एक वर्कशप’ अवधारणा लागू गर्नुपर्ने, कृषि यान्त्रिकीकरणलाई प्रमुख कृषि इनपुटका रूपमा राखिनुपर्ने, सार्वजनिक-निजी साझेदारीलाई प्रवर्द्धन गर्दै अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने संघको माग छ।
संघले स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै कृषि यन्त्र परीक्षण केन्द्रलाई पूर्ण रूपमा सञ्चालन गर्नुपर्ने, महिला र जलवायु मैत्री कृषि यान्त्रिकीकरणलाई प्रवर्द्धन गर्नुपर्ने, भूमि उपयोग नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने र कृषि यान्त्रिकीकरण प्रवर्द्धन नीति २०७१ लाई लागू गर्दै ऐन बनाई कार्यान्वयनमा ल्याउनुपर्ने माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीले मागहरू आफ्नो एजेन्डासँग मेल खाने बताए। मन्त्री अधिकारीले संघको प्रयासको उच्च प्रशंसा गर्दै सम्बन्धित शाखामार्फत आवश्यक प्रक्रिया अगाडि बढाउने बताए।
नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष शर्माका अनुसार कृषि यान्त्रिकीकरण व्यवसायलाई व्यवस्थित, प्रतिस्पर्धात्मक र आत्मनिर्भर बनाउने दिशामा यो ज्ञापनपत्र महत्वपूर्ण रहनेछ।
प्रतिक्रिया दिनुहोस्