काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अमेरिकाको वासिङ्टन डिसीमा आयोजित ‘ट्रान्सफर्मीङ् ट्रान्सपोर्टेसन २०२५’ कार्यक्रममा नेपाल सरकारको यातायात पूर्वाधार विकासको दृष्टिकोण प्रस्तुत गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दाहालले नेपाल भौगोलिक रूपमा सानो भए पनि पर्यावरणीय दृष्टिकोणबाट विविधतायुक्त रहेको उल्लेख गरे। नेपाल सरकारले वातावरण अनुकूल सडक सञ्जाल तथा यातायात विस्तारलाई प्राथमिकता दिएको र यसले सहश्राव्दी विकास लक्ष्य प्राप्तिमा योगदान पुर्याउने बताए । उनले यातायात पूर्वाधार कृषिको व्यवसायीकरण, आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, र समग्र आर्थिक विकासका लागि महत्वपूर्ण हुने धारणा राखे ।
मन्त्री दाहालका अनुसार नेपाल सरकारले ग्रामीण क्षेत्रमा मुख्य सडक सेवा विस्तार गर्ने, अवस्थित सडकहरूको स्तरोन्नति र सवारी सञ्चालन लागत घटाउनेतर्फ ध्यान दिइरहेको छ। साथै, पालिका केन्द्र, व्यवसाय र सेवा केन्द्रलाई सडक सञ्जालसँग जोड्ने तथा स्थानीय प्रविधि र स्रोतहरूको उपयोग गरी ग्रामीण पहुँच विकास गर्ने नीति अवलम्बन गरिएको जानकारी दिए ।
सडक मर्मतसम्भारलाई योजनाबद्ध रूपमा अगाडि बढाइएको उल्लेख गर्दै उनले सम्पूर्ण सडक संरचनाको मूल्याङ्कन र प्राथमिकता निर्धारण गर्न स्वचालित प्रणाली विकास गरिएको बताए । मन्त्री दाहालका अनुसार विश्व बैंकको सहयोगमा सडक मर्मतसम्भारका लागि स्थानीय स्रोत साधनलाई प्राथमिकता दिने नीति अपनाइएको छ।
मन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले यातायात, रोजगारी, आर्थिक वृद्धि, खाद्य सुरक्षा र यातायात सञ्जाल विस्तारका विविध विषयमा हुने छलफलमा भाग लिने कार्यक्रम छ। विश्व बैंकको आयोजनामा मार्च १० देखि सुरू भएको यो अन्तर्राष्ट्रिय मञ्च यातायात मार्फत समावेशी र दिगो विकास प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो।
प्रतिक्रिया दिनुहोस्