‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधन’ प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन


काठमाडाैँ । प्रतिनिधि सभाको मंगलवारको बैठकले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधन’ सर्वसम्मतिले अनुमोदन गरेको छ ।

बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस्’ प्रस्ताव पेश गरेका थिए । सो संशोधनमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए ।

सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री ठकुरीले उक्त संशोधनले नेपालमा जलवायु परिवर्तन र तापमानलाई सिमित डिग्रीमा राख्नको लागि महत्वपूर्ण सावित हुने बताए ।

संसदले किगाली संशोधन अनुमोदन गरेसँगै अबको तीन महिनाभित्र हाइड्रोफ्लोरो कार्बनको आयात र निर्यात नियन्त्रण गर्ने राष्ट्रिय स्तरमा इजाजतपत्र प्रणालीको स्थापना गर्नुपर्नेछ । हाइड्रोफ्लोरो कार्बन र हाइड्रोफ्लोरो कार्बन समाविष्ट मिश्रणको उपभोग सन् २०२४ बाट आधार वर्षको तहमा सिमित राख्नुपर्ने लगायतका प्रावधान रहेका छन् ।