काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने बताएका छन् ।
सोमवार काठमाडौँमा नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले कोषको ध्यान उक्त कार्यतर्फ जानुपर्ने बताएका हुन्। अध्यक्ष ढकालले नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतका कोषहरूको लगानी पूर्वाधार निर्माण,रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन, हाइड्रोपावर लगायतका क्षेत्रमा उपयोग गर्नुपर्ने बताए ।
उनले कोषहरुको करिव ५२ प्रतिशत भन्दा बढी रकम बैंक तथा वित्तीय संस्थाहरुमा फिक्स डिपोजिटको रुपमा रहेको भन्दै यसको उपयोग रोजगारी सिर्जना, विकास निर्माणका क्षेत्रमा गर्नुपर्ने बताए ।
“नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायत अरू पनि कोषहरू रहेको छ । करिव ५२ प्रतिशत भन्दा बढी जुन फण्ड छ, त्यो बैंक तथा वित्तीय संस्थाहरूमा फिक्स डिपोजिटको रूपमा रहेको कुरा गर्नुभयो । यो अहिलेको परिस्थितिलाई लगानी विविधिकरणको लागि नयाँ नयाँ पोलिसीहरु पनि नयाँ नीतिहरु ल्याएका छौँ भन्नुभएको छ । जुन निकै सह्रानीय छ । करिव दुई खर्ब ७० अर्बको हाराहारीमा यहाँहरूको फण्ड रहेछ । त्यसैगरेर एसएसएफको कुरा गर्दा १ खर्ब जति छ । सञ्चय कोषको पनि त्यति नै ठूलो फण्ड छ,” उनले भने ।
अध्यक्ष ढकालले जम्मा भएका फण्डहरू विकास निर्माण, उत्पादनशील क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नेगरी अघि बढ्नुपर्ने सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस्