नागरिक लगानी कोषको रकम नागरिकको हितका लागि उपयोग गर्नुपर्छः अर्थसचिव उपाध्याय


काठमाडाैँ । अर्थसचिव घनश्याम उपाध्यायले नागरिक लगानी कोषको रकम नागरिकको हितका लागि उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

सोमवार काठमाडौँमा नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले नागरिकको हितका लागि कोषहरूको लगानीलाई उत्पादनशिल क्षेत्रमा लगाउनुपर्ने बताएका हुन् । उनले नेपाल सरकारका प्राथमिकताका क्षेत्रहरुमा कसरी अघि बढाउने भन्नेकुरामा कोषले ध्यान दिनुपर्ने बताए ।

उनले सञ्चयकर्ताको हित सँगसँगै नामअनुसार नागरिकको वचत परिचालन, सामाजिक सुरक्षाका कार्यक्रमहरु अघि बढाउन कोषको प्राथमिकता र लगानीलाई उत्पादनशील क्षेत्रमा प्रयोग गरेर मुलुकको समग्र अर्थतन्त्रलाई योगदान दिन जरुरी रहेको बताए ।

नागरिक लगानी कोषका अध्यक्ष डा.सूर्यबहादुर थापाले चालु आ.व.को पुस मसान्तसम्म कोषले सञ्चालनमा रहेका आयोजनाहरूको दुई खर्ब ७३ अर्ब ७२ करोड खुद कोष मौज्दात रहेको बताए । यस अवधिमा दुई खर्ब ६४ करोड ७८ लाख लगानी गरेको अवस्था रहेको बताए । कृषि,पर्यटन, उर्जा र भौतिक पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा आफ्नो लगानी बिस्तर गर्नेतर्फ कोष अग्रसर रहेको बताए ।

कोषको कार्य सम्पादन वृद्धिका लागि उच्च योगदान गर्न आग्रह गरे । कार्यक्रममा सहभागी वक्ताहरूले आर्थिक विकासमार्फत समाजमा विद्यमान बेरोजगारीको अन्त्य गर्न नसकेसम्म देशमा दिगो विकास र स्थायित्व प्राप्त गर्न नसकिने बताए ।