तरकारीमा बढ्दाे विषादी, कमजोर क्षमताका नियामक निकाय


काठमाडौँ । गत चैत १ गते कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले गरेको विषादी परीक्षणमा घिरौलामा ६२.३८८ प्रतिशत अर्गानोफस्फेट विषादीको मात्रा पाइयो । सोही परीक्षणमा परवलमा पनि ४८.७०५ प्रतिशत विषादीको मात्रा देखियो। चैत २ गते गरिएको परीक्षणमा काँक्रोमा ६५.२३५ प्रतिशत विषादीको अवशेष फेला परेको थियो ।

यसअघि फागुन २५ गते गरिएको परीक्षणमा काउलीमा ७१.४८४ प्रतिशत विषादी भेटिएको थियो भने फागुन २७ गते गरिएको अर्को परीक्षणमा काउलीमै ५१.५६७ प्रतिशत विषादीको मात्रा पाइएको थियो। फागुन २६ गते परीक्षण गर्दा काँक्रोमा ५४.०६१ प्रतिशत विषादी रहेको तथ्यांक सार्वजनिक भएको थियो । कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षणमा यी तरकारीहरुमा विषादीको मात्रा अत्यधिक देखिएको हो ।

यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोगयोग्य ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ । पछिल्लो समय सागसब्जी तथा फलफूलमा विषादीको उच्च मात्रा फेला परेको यस्ता रिपोर्टहरू सार्वजनिक भइरहेका छन्, जसले उपभोक्ताहरूमा गम्भीर चिन्ता उत्पन्न गरेको छ । केन्द्रीय कृषि प्रयोगशाला तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काउली, काँक्रो, सिमी, भण्टा, फर्सी, साग लगायतका तरकारी तथा कृषि उपजमा मानव स्वास्थ्यलाई हानि पुर्‍याउने तहसम्म विषादीको मात्रा देखिएको उल्लेख गरेका छन् ।

यस प्रकारका रिपोर्टहरू बाहिर आउन थालेपछि सम्बन्धित निकायहरूले किसान तथा व्यापारीलाई अत्यधिक विषादी प्रयोग नगर्न आग्रह गर्दै बजारमा हानिकारक तहसम्म विषादीयुक्त उत्पादनहरू बिक्री नगरियोस् भन्ने चेतावनी दिएका छन्।उपभोक्ताहरूमा समेत विषादी प्रयोगबारे सचेतना बढ्दै गएको छ, जसले गर्दा स्थानीय तथा जैविक उत्पादनप्रति चासो बढेको देखिन्छ। तर, बजार अनुगमन तथा नियन्त्रण प्रभावकारी नहुँदा अझै पनि उच्च मात्रामा विषादीयुक्त तरकारी तथा फलफूल बिक्रीवितरण भइरहेको उपभोक्ताहरूको गुनासो छ ।

खाद्य सुरक्षासँग जोडिएको यो समस्या समाधान गर्न सरकारले विषादी परीक्षणको दायरा फराकिलो पार्नुका साथै नियमित अनुगमन गर्नुपर्ने आवश्यकता देखिएको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले बताए । उनले भने,” देशमा अधिकांश हरियाे तरकारी भारतबाट आउने गरेकाे छ जसमा अत्यधिक विषादी प्रयाेग समेत हुने गर्छ । त्यस्ताे आयतित तरकारीमा सरकारले कडा निगरानी राखेर मात्रा आयात गर्न दिनुपर्छ ।”

त्यसाे त खाद्य विभागले काठमाडौँबाहेक १२ वटा आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय काँकडभिट्टा, रानी- विराटनगर, जलेश्वर, वीरगञ्ज, वेलहिया, भैरहवा, कृष्णनगर, नेपालगञ्ज, धनगढी, गड्डाचौकी महेन्द्रनगर, तातोपानी, टिमुरे रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आरबीपीआर सुविधा भएको प्रयोगशालामार्फत भारतसहित तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलको नमूना संकलन गरि विषादी अवशेषको परीक्षण गर्दै आएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले विभागले १२ ठाउँमा नै कार्यालयले राखेर आयतित तरकारीमा विषादी परिक्षण गर्दै आएकाे जानकारी दिए । उनले भने,” अहिले विभागले पनि कालिमाटीमा परीक्षण भए जसरी दुई ओटा विषादीको परिक्षण गर्दै आएको छ ।”

वार्षिक बढ्दै छ आयात, कुन खाद्यमा बढी प्रयोग ?

पछिल्लो समय हरियो तरकारीमा विषादी बढ्दै गएको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारस्थित विषादी प्रयोगशालामा गरिएको परीक्षण रिपोर्टअनुसार हरियो तरकारी सिमी, काउली, साग, काँक्रो, परबल र गोलभेंडा जस्ता तरकारीमा अत्यधिक विषादीको अवशेष पाइएको छ । उसो त थोरै जग्गाबाट धेरै उत्पादन गर्ने होडबाजीका कारण हिजोआज देशका हरेक ठाउँमा विषादीको प्रयोग बढ्दै गएको छ भने यस्ता खालका विषादीको पनि खपत र आयात दुवै बढ्दै गएको छ ।

जसको फलस्वरुप आर्थिक वर्ष २०७५/७६ मा ८ लाख ९ हजार ९३ केजी विषादी आयातका नाममा ९५ करोड ६१ लाख ४९ हजार रुपैयाँ बाहिरिएको छ । २०७६/७७ मा ६ लाख ८१ हजार ६ सय २७ केजीको विषादी आयात गर्दा ७९ करोड ३८ लाख ३ हजार रुपैयाँ खर्च भएको छ । यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा ७ लाख ८३ हजार ३ सय ४३ केजी विषादी आयात गर्दा १ अर्ब ६ करोड १८ लाख २३ हजार रुपैयाँ बाहिरिएको सरकारी तथ्यांक छ ।

यस्तै २०७८/७९ मा ११ लाख ३५ हजार ५ सय ४ केजी विषादी आयात भएकोमा १ अर्ब ६२ करोड ३८ लाख ९५ हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै २०७९/८० मा ११ लाख ८३ हजार ७ सय ४१ केजी विषादी आयात गर्दा १ अर्ब ६९ करोड ६३ लाख ६१ हजार रुपैयाँ र २०८०/८१ मा मात्रै १ अर्ब ६९ करोड ६३ लाख रुपैयाँको विषादी आयात भएको छ । नेपालमा ठूलो परिमाणमा विषादी आयात भइरहेकाले लाखौँ रुपैयाँ बाहिरिएको तथ्य स्पष्ट छ । तर मूल प्रश्न भने, यी विषादी मुख्य रूपमा कुन तरकारीमा बढी प्रयोग भइरहेका छन् भन्ने हो ।

नेपालमा विषादीको प्रयोग विशेष गरी ती बाली तथा तरकारीहरूमा उच्च देखिन्छ, जुन छोटो अवधिमा तयार हुन्छन् र बजारमा तीव्र रूपमा खपत हुन्छन् । तीमध्ये, पालुङ्गो, बन्दा, गोलभेँडा, काँक्रो, लौका, भिन्डी, केराउ, सिमी र अदुवा जस्ता बालीहरूमा विषादीको अत्यधिक प्रयोग हुने गरेको पाइन्छ ।

विशेष गरी, गोलभेँडामा कीटनाशकको प्रयोग अत्यधिक हुने गरेको देखिन्छ, किनभने यसको खेतीमा कीरा तथा रोगहरूको प्रकोप धेरै हुने गर्छ । यसैगरी, बन्दा तथा पालुङ्गोमा पनि विषादीको मात्रा उच्च हुने गर्छ, किनभने तिनमा कीराहरूको असर चाँडै देखिन सक्छ । साथै, सिजनल तरकारीहरू जस्तै लौका, भिन्डी, सिमी र केराउमा पनि विषादीको प्रयोग गरिन्छ ।

सातौं राष्ट्रिय कृषि गणना २०७८ ले पनि विषादीको प्रयोग कुन खाद्यमा बढी हुन्छ भन्ने विषयमा विश्लेषण गरेको थियो ।
खाद्यका लागि कृषि अभियानका संयोजक अधिकारीले पछिल्लो सयम बढ्दै गरेको आयात र प्रयोगले मानव स्वास्थ्य लगायत जलवायुमा समेत नराम्रो तरिकाले हानि गरेकाे बताए ।

कृषिगणना २०७८ अनुसार धान खेती गर्ने २७ लाख ६५ हजार ४६७ कृषक परिवार मध्ये १४,७११ कृषक परिवारहरूले धान बालीमा अति कडा (रातो) विषादी प्रयोग गरेको बताएका छन् । यसैगरी ७५.९ प्रतिशत कृषक परिवारले धान बालीमा रासायनिक मल प्रयोग गरेको पाइएको छ । यसरी नै मकै खेती गर्ने २६ लाख ६ हजार ०९५ कृषक परिवारले मकैमा रासायनिक मल प्रयोग गर्ने ४८.६ प्रतिशत देखिएको छ । सोही अवधिमा गहुँखेती गर्ने २० लाख ४९ हजार ९१ कृषक परिवारमध्ये२८.३ प्रतिशत कृषक परिवारले विषादी र ५८.५ प्रतिशतले रासायानिक मलको प्रयोग गरेको गणनाले देखाएको छ ।

त्यसैगरि तरकारी बाली लगाउने कृषक परिवार संख्या १९ लाख ७७ हजार ५७१ विषादीको प्रयोग गर्ने कृषक परिवार विगत १० वर्षमा १५.८ प्रतिशतबाट बढेर २६.७ प्रतिशत हुनपुगेका छन् भने पछिल्लो गणनामा तरकारी बालीमा विषादी प्रयोग गर्ने ५ लाख २८ हजार ३४ कृषक परिवार मध्ये ५३.२ प्रतिशत कृषक परिवारले सुरक्षित (हरियो), ३३.२ प्रतिशतले मध्यम (निलो), १२.९ प्रतिशतले कडा (पहेलो) र ०.७ प्रतिशत कृषक परिवारले अति कडा (रातो) विषादी प्रयोग गरेको बताएका छन् । यसरी नै तरकारी बालीमा रासायानिक मल प्रयोग गर्ने कृषक परिवार २३.३ प्रतिशत देखिएको छ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रमेलाल महर्जनले पछिल्लो समय केही हरियो तरकारीहरूमा ९० प्रतिशत विषादी भेटिएको बताउँदै सरकारी निकायले समयमा नै ध्यान दिन आवश्यक रहेको बताए ।

महालेखाको ताकेता

महालेखा परिक्षकको कार्यालयले समेत हरियो तरकारीमा देखिएको विषादीको बढ्दो प्रयोगबारे प्रतिवेदन मार्फत सचेत गराउँदै आएको छ । महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन २०८१ का अनुसार आर्थिक वर्ष २०७५।०७६ को तुलनामा विषादी पञ्जीकरण सङ्ख्यामा ८६.८३ र आयातको परिमाणमा ४६.३ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

गत वर्षको तुलनामा यो वर्ष विषादी आयात परिमाण ४.२५ प्रतिशतले वृद्धि भई विभिन्न आयातकर्ताले रू.१ अर्ब ६९ करोड ६३ लाख मूल्यको ११ लाख ८३ हजार ७४१ किलोग्राम विषादी आयात गरेको देखिएको महालेखाको प्रतिवेदनले जनाएको छ । विषादीको बढ्दो प्रयोगले मानव, जीवजन्तु र वातावरणमा प्रतिकूल प्रभाव पर्ने भएकोले यसको आयात, उपयोग र भण्डारणको उचित व्यवस्थापन हुनुपर्ने महालेखाको प्रतिवेदनले औँल्याएको छ ।

“मन्त्रालयअन्तर्गतका कार्यालयले गरिरहेका प्लान्ट क्लिनिक कार्यक्रम, आईपीएम् प्रविधि सञ्चालन कार्यक्रम, विभिन्न बालीहरूमा विषादीको अधिकतम अवशेष सीमा तोक्ने कार्य र विभिन्न नाकामा विषादीद्रुत विश्लेषण कार्यमा बढोत्तरी गर्नुपर्ने देखिन्छ । जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ को दफा ३ अनुसार जीवनाशक विषादीको पञ्जीकरण गर्नुपर्ने एवं दफा १८ मा पञ्जीकरण भएका विषादी मात्र आयात गरी प्रयोग गर्न सक्ने व्यवस्था छ,” महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनमा भनिएको छ ।

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रवाट पञ्जीकरण गरिएका विषादीहरूमा कीटनाशक, ढुसीनाशक, व्याक्टेरियानाशक, सुलसुलेनाशक, शंखेकीरानाशक, मुसानाशक, किरानाशक वानस्पतिक र जैविक समूहका विषादीमा सामान्य नामका आधारमा १६८ र व्यापारिक नामका आधारमा ५ हजार ८०७ विषादी हालसम्म पञ्जीकरण भएकाे महालेखाले जनाएकाे छ ।

विषादी परीक्षणको सीमितता

नेपाल सरकारले १६८ प्रकारका विषादीलाई प्रयोगको लागि अनुमति दिएको भए पनि हाल ‘अर्गानोफस्फेट’ र ‘कार्वामेट’ नामका दुई समूहका विषादी मात्र परीक्षण गरिन्छ। भारतलगायत तेस्रो मुलुकबाट आयात गरिने तरकारी तथा फलफूलमा पनि यिनै दुई प्रकारका विषादीको मात्र परीक्षणपछि अनुमति दिइने प्रावधान छ। तर, अन्य समूहका विषादी परीक्षण नगरिँदा उपभोक्ताले दैनिक रूपमा सेवन गर्ने तरकारी तथा फलफूलमा हानिकारक रसायनको मात्रा कति छ भन्ने यकिन गर्न सकिने अवस्था छैन।

हाल विषादी परीक्षणको अभावका कारण सातामा एक वा दुई पटक मात्र तरकारी तथा फलफूलमा विषादी भेटिएको सरकारी तथ्यांक छ । नेपाल सरकारले हालसम्म इन्सेक्टीसाइड, एकारिसाइड, निमाटीसाइड, फङ्गीसाइड, ब्याक्टेरिसाइड, हर्बिसाइड, रोडेन्टीसाइड, मोलससाइड, बायोपेस्टीसाइड र हर्बल समूहका गरी १६५ प्रकारका विषादी आयात, बिक्री तथा प्रयोग गर्न अनुमति दिएको छ।

तीमध्ये केही विषादीहरू कृषि उत्पादन वृद्धिका लागि प्रयोग गरिए पनि स्वास्थ्यमा पार्ने असरका कारण विज्ञहरूले नियमनको आवश्यकता औंल्याएका छन् । केन्द्रीय कृषि प्रयोगशालाकी वरिष्ठ बाली विकास अधिकृत (सूचना अधिकारी) मन्जुश्री अर्याल भट्टराईले पछिल्लो समय सरकारको सक्रियताले हरियो तरकारीमा विषादीको चेकजाँच तीव्र रूपमा हुँदै आएको बताइन् ।

उनले भनिन्, “केही समय अघि विदाको दिनमा तरकारीमा विषादीको चेकजाँच हुने थिएन् तर अहिले विदाको दिनमा चेकजाँच हुने गरेको जुन कुरा प्रयाेगशाला सक्रियताकाे साथ अघि बढेकाे देखाउँछ ।” उनले आउँदो दिनमा थप जनशक्तिको प्रयोग गरेर अझै बढी विषादीको चेकजाँच गर्ने रणानीति तय भैसकेको बताइन् ।

नेपालमा हाल विषादीको प्रभावकारी परीक्षणका लागि आवश्यक उपकरण तथा स्रोतसाधनको अभाव रहेको विज्ञहरूको भनाइ छ । विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्ने तथा माटोको गुणस्तरमा गिरावट आउने खतरा बढेकाले नियमनलाई थप प्रभावकारी बनाउन नेपाल सरकारले अन्य विषादी परीक्षणको दायरा बढाउने पहल गर्नुपर्ने खाद्यका लागि कृषि अभियानका संयाेजक अधिकारीले बताए । यता राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष महर्जनले नियमनकारी निकायहरू बिच समन्वयकाे अभाव र प्राप्त जनशक्तिकाे कमीले गर्दा उपभाेक्ताहरू विषादीयुक्त तरकारी खान बाध्य भएकाे दाबी गरे ।

अनियन्त्रित प्रयोगले स्वास्थ्यका लागि घातक

कृषि उत्पादन वृद्धिका लागि विभिन्न प्रकारका विषादी प्रयोग गरिन्छ। तर, यिनै विषादीको अनियन्त्रित प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरेको छ। विषादीका अवशेषहरू तरकारी तथा फलफूलका माध्यमबाट मानव शरीरमा प्रवेश गर्दा दीर्घकालीन रूपमा स्वास्थ्य समस्याहरू निम्त्याउने वैज्ञानिक अध्ययनहरूले पुष्टि गरिसकेका छन्। नेपालमा हाल ‘अर्गानोफस्फेट’ र ‘कार्वामेट’ नामक विषादी परीक्षण गरिए पनि अन्य घातक विषादीको मात्रा कति छ भन्ने विषय अझै अनविज्ञ छ।

विषादीयुक्त तरकारी तथा फलफूलको उपभोग गर्दा मानवीय स्वास्थ्यमा विभिन्न प्रकारका समस्याहरू देखिन सक्छन्। अल्पकालीन रूपमा पेट दुख्ने, बान्ता हुने, टाउको दुख्ने, चक्कर लाग्ने, छाला एलर्जी हुने, आँखा पोल्ने तथा स्वासप्रस्वासमा समस्या देखिन सक्छ। यस्तै, लामो समयसम्म विषादीयुक्त खाद्य पदार्थको सेवनले क्यान्सर, स्नायु प्रणालीमा क्षति, मिर्गौला तथा कलेजोमा समस्या, प्रजनन क्षमता ह्रास तथा हर्मोनसम्बन्धी विकारहरू निम्त्याउने खतरा रहन्छ।

अध्ययनहरूका अनुसार केही विषादी यस्ता छन्, जसले डीएनएमा समेत असर पार्न सक्छन्। गर्भवती महिलाहरूमा यसको असर अझै गम्भीर देखिन सक्छ, जसले भ्रूणको वृद्धि अवरुद्ध गर्न सक्छ वा शारीरिक तथा मानसिक अपांगताको जोखिम बढाउन सक्छ। राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष महर्जनले यस्ता राेगहरूबाट समयमा नै मानिसहरूलाइ बचाउनकाे लागि किसानहरूमा सचेतना बढाउन आवश्यक रहेकाे आाैल्याए । उनले भने,”केही समय हामीहरू देशका विभिन्न जिल्लाहरूमा पुगेर यसकाे विषयमा अध्ययन गरेका थियाैँ त्यहाँ पुग्दा किसानहरूलाइ विषादीकाे प्रयाेग र यसले स्वास्थयमा पार्ने असरबारे ज्ञान नभएकाे पाइयाे । त्यसैले सरकारले सचेतनाकाे कार्यक्रमहरू लिएर गाउँ गाउँमा पुग्नुपर्छ ।”

नेपालमा विषादी परीक्षण सीमित भएकाले आम उपभोक्ताले सुरक्षित खानेकुराको उपलब्धता सुनिश्चित गर्न कठिन भइरहेको छ। विषादीको अनुगमन, परीक्षण तथा नियमन प्रभावकारी नहुँदा विषादीको अत्यधिक प्रयोग रोक्न सकिएको छैन। यसै कारण, उपभोक्ताहरूले तरकारी तथा फलफूल उपभोग गर्नु अघि राम्ररी सफा गर्ने, नुनपानी वा हल्का ताताे पानीमा डुबाएर राख्ने तथा जैविक खेतीबाट उत्पादन भएका तरकारी तथा फलफूललाई प्राथमिकता दिने जस्ता उपाय अपनाउनु आवश्यक रहेकाे अभियानकाे संयाेजक अधिकारीले सुझाव दिए ।

सरकारले विषादीको प्रभावकारी परीक्षण तथा नियमनको व्यवस्था गर्दै, आयातित तथा स्वदेशी उत्पादनमा कडाइका साथ जाँच गर्नुपर्ने आवश्यकता देखिएको छ। अन्यथा, अनियन्त्रित विषादी प्रयोगकै कारण नेपाली समाजमा स्वास्थ्य समस्या झन् विकराल बन्ने खतरा रहेको विज्ञहरू बताउँछन्।