काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले काठमाडौँबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्राका बारेमा छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेका छन् ।
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले मुलुकमा आर्थिक अपराध मौलाउदै गएकोप्रति समेत चिन्ता व्यक्त गरेका हुन् । उनले यस्तो अपराध उच्च तहको संलग्नताबिना सम्भव नहुने भन्दै आवश्यक अनुसन्धान गर्न माग गरे । उनले घटनाको छानविन गरि संलग्न जोसुकै भएपनि कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए ।
“यस्ता प्रकृतिका घटनामा भरिया र ड्राइभरमात्र पक्राउ पर्दछन् । केही समय ठूलाठूला समाचार बन्दछन् र निश्चित समयपछि सामान्य रुपमा जाने गरेको छ । हाम्रो दलको तर्फबाट, यो घटनाको लागि छानविन गर्न एउटा विशेष छानविन समिति गठन गरियोस् र यो घटनामा संलग्न उच्च तहका नेता एवं कर्मचारी भएपनि कानूनी दायरामा ल्याउन माग गर्दछु,” उनले भने ।
काठमाडौँ प्रहरीले करिव २५ करोड नगदसहित दुई जनालाई पक्राउ गरेको थियो । अमेरिकी डलर र युरोसहित दुईजनालाई पक्राउ गरी मंगलवार सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्