नेपाल–चीनबिचका १४ वटा व्यापारिक नाका सञ्चालनमै छन्ः प्रधानमन्त्री


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन बीचको १४ वटा परम्परागत व्यापारिक नाकाहरूमध्ये १३ नाका पुनःसञ्चालनमा आइसकेको बताएका छन् ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा उनले बझाङ जिल्लाको उरैभञ्ज्याङ सुचारु गर्नका लागि कुटनीतिक पहल भइरहेको बताएका हुन्। उनले सीमा नाका रहेको जिल्लाका नेपाली नागरिकलाई चीन आवगमनका लागि अनुपति पत्र उपलब्ध गराउन कार्यविधिसेमत कार्यान्वयनमा आइसकेको बताए ।

व्यापारिक नाका सञ्चालन तथा सीमा व्यवस्थापनबारे सन् २०१९ मै नेपाल र चीनबीच हस्ताक्षर भएको उनको भनाइ छ । “नेपाल–चीनको सिमानमा रहेका १४ स्थानमा रहेका परम्परागत व्यापारिक नाकाहरु पुनः सञ्चालन गर्ने सीमा व्यवस्थापन सम्बन्धमा नेपाल र चीनबिच सन् २०१९ मा हस्ताक्षर भएको व्यहोरा जानकारी गराउँदछु । सोही बमोजिक चीनसँग सीमा जोडिएको जिल्लाका नेपाली नागरिकहरुलाई चीन आवगमन गर्न अनुमति पत्र उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइएको छ,”उनले भने ।

प्रधानमन्त्री ओलीले नाका सञ्चालनमै रहेपनि हिउँ परेका कारण अस्थायी रुपमा केही नाकाबाट आवागमन हुन नसकेको हुनसक्ने बताए ।