अविकास र अल्पविकासको अमिल्दो तुलना


पछिल्लो केही समययता पञ्चायतकालीन र वर्तमान समयका तथ्यांक वा सूचकाङ्कहरू राखी बराबरी तुलना गर्न थालिएको छ। तथ्याङ्कशास्त्र पढाउँदा तथ्याङ्कहरू तुलनाका लागि अगाडि वा वरपरका समान सन्दर्भमा राखिनु पर्छ भन्ने सिद्धान्त रहँदै आएको छ। त्यसैले यसरी तुलना गर्दा पञ्चायतकालका तीस वर्ष र लोकतन्त्रपछिका तीस वर्षलाई एकै तराजुमा राखिएको हुनुपर्छ।

सोही तराजु वा सोही चश्माबाट एकपटक हेरौं। सन् १९६१ मा नेपाल अन्तर्राष्ट्रिय द्रव्य कोष (आईएमएफ- नेपाल सरकारको आधिकारिक दस्तावेजमा सोही उल्लेख छ)को सदस्य भएपछि सन् १९६२ मा गरेको नेपाली अर्थतन्त्रको अध्ययन नै यस क्षेत्रका पहिलो डाइग्नोसिक रिपोर्ट मानिन्छ। नेपालले आईएमएफको सदस्यता लिँदा पेश गरेको विवरणअनुसार आव २०१५/१६ मा नेपालको कुल गार्हस्थ्य उत्पादन जीडीपीको आकार जम्मा ३ अर्ब ३१ करोड ६० लाख रुपैयाँ बराबर रहेको अनुमान थियो भने प्रतिव्यक्ति आय रु ३४४ (४५ अमेरिकी डलर) रहेको थियो। यसबेला कृषिमा आश्रित जनसंख्या ९३.५ प्रतिशत थियो। गरिबीबारे गणनाका चलन थिएन तर त्यससमय प्रतिदिन १ अमेरिकी डलरभन्दा कमको आयमा बाँच्ने नेपाली ७० प्रतिशत रहेको अनुमान थियो।

देशभरिमा एउटा त्रिभुवन जम्मा ९०० माइलमात्र सडक रहेको र त्यसमध्ये आधामात्र मोटरेबल रहेको आईएमएफले उल्लेख गरेको छ। यसबाहेक नेपालगञ्ज-बुटबल, विराटनगर-धरान सडकबाहेक भैरहवामा पनि सानो दूरीको सडक थियो। अमलेखगञ्जसम्म न्यारोगेज रेलवेज थियो। काठमाडौंमा रोपवे प्रणाली थियो। काठमाडौं सिमरा पोखरा भैरहवा विराटनगर भद्रपुर र नेपालगञ्जमा हवाई उडान हुन थालिसकेको थियो। अर्थात पूर्वाधार विकास भरखर शिशु अवस्थामा थियो।

सन् १९८९/९० सम्म आइपुग्दा जीडीपीको आकार १ खर्ब ४९ अर्ब ४८ करोड रुपैयाँ पुग्यो। कृषिमा आश्रित जनसंख्या ८१.२३  प्रतिशतमा झर्यो। सन् १९८९/९० मा विश्व बैंक र यूएनडीपीद्वारा तयार पारिएको पहिलो गरिबी गणनाले राष्ट्रिय योजना आयोगको अनुमानअनुसार ४० प्रतिशत भने पनि अन्तर्राष्ट्रिय मानकअनुसार करिब ६५ प्रतिशत नेपाली गरिबीको रेखामुनि रहेको देखायो।

विसं २०१८ सालमा औसत आयु ३७.४ वर्षमात्र रहेकोमा २०४८ सालमा ५३.५ वर्ष पुग्यो। प्रतिव्यक्ति आय औसत ४८ अमेरिकी डलरबाट २०० अमेरिकी डलर पुग्यो। साक्षरता दर ८.९ प्रतिशतबाट ३९.६ प्रतिशत पुग्यो।

अब यसलाई वर्तमानमा हेर्दा जीडीपीको आकार आव २०८०/८१मा ५७ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ। अर्थतन्त्रको कुल आकार बढेपछि त्यसलाई जनसंख्याले भाग गरेर निकालिने प्रतिव्यक्ति आय पनि १४३३ अमेरिकी डलर पुगेको छ।

विश्व बैंकले अध्ययनका लागि सन् १९८९मा नेपालसरह अति गरिब अवस्था रहेका इथियोपिया, माली र जायर तथा छिमेकी एसियाली देशहरू बंगलादेश, भारत, थाइल्याण्ड र श्रीलंककाको सूचक लिएको थियो। जसअनुसार नेपालको प्रतिव्यक्ति आय १६० अमेरिकी डलर हुँदा इथियोपियाको १३०, मालीको २१० र जैरेको १५० अमेरिकी डलर थियो भने बंगलादेशको १६०, भारतको ३००, थाइल्याण्डको ८५० र श्रीलंकाको ४०० अमेरिकी डलर थियो। अहिले नेपालको प्रतिव्यक्ति आय १४०० अमेरिकी डलर हुँदा इथियोपियाको १२७२, मालीको ८६९ र कंगो (जायरबाट परिवर्तित नाम डिपिआर कंगो) को ६२७ अमेरिकी छ भने बंगलादेशको २५५१, भारतको २३६०, थाइल्याण्डको ७१८२ र श्रीलंकाको ३८२८ अमेरिकी डलर पुगेको छ।

यहाँनेर बुझ्नु पर्ने तथ्य के हो भने सन् १९९० अघि विश्वका प्राय सबै नै विकासशील देशहरू आर्थिक सामाजिक विकासको प्रारम्भिक अवस्थामा नै थिए। शासकीय प्रणालीहरू सबैमा परिवर्तनका क्रममा थियो। अधिकांश देशले आर्थिक उदारीकरण र खुला बजार व्यवस्था अंगालेकै थिएनन जसमा हाल विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको चीन पनि पर्छ। त्यसैले तुलना सापेक्षित हुनुपर्छ न कि निरपेक्षित।

विगत ३४ वर्षका सबै अर्थसामाजिक सूचकहरू (२०४७-२०८१)को विस्तृत विवरण टक्सार प्रिमियम म्यागजिन २०८१ चैत अंक हेर्नुहोला ।

https://thuprai.com/magazine/taksar-vol-4-issue-12/