पानीको सहि सदुपयोगबाट मुलुकले क्रान्तिकारी समृद्धि हाँसिल गर्न सक्छः उर्जामन्त्री खड्का


काठमाडाैँ ।उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पानीको सही सदुपयोगबाट मुलुकले क्रान्तिकारी समृद्धि हाँसिल गर्नसक्ने बताएका छन् ।

काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पानीको सही सदुपयोगमा लाग्नु आजको आवश्यकता भएको उल्लेख गरेका हुन्। उनले पानी दैनिक जीवनको मात्र नभइ आर्थिक समृद्धिको वाहक भएको बताए । उनले पानीको प्रयोग गरेर देशलाई समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताए ।

उर्जामन्त्री खड्काले जलश्रोतहरु नेपालको संस्कृति, सभ्यता र आर्थिक विकासको मेरुदण्ड  भएको जिकिर गरे । जलवायु परिवर्तनका कारण विश्व पानी चक्रमा नै परिवर्तन आएको बताए । हिमनदीहरु खुम्चिँदै जानुले हिमताल फुट्ने जोखिम वृद्धि भएको बताए ।

मन्त्री खड्काले बेमौसमी वर्षाले कृषि क्षेत्रमा धेरै असर पुगेको र त्यसले जलश्रोत व्यवस्थापन र भविष्यको जल सुरक्षामा गम्भीर चुनौति उत्पन्न गरेको बताए ।