काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरप्रति प्रश्न उठाएका छन्।
ललितपुरमा आयोजित नेपाल कृषि मेसिनरी व्यवसायी संघको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषिमा यान्त्रिकीकरणको आवश्यकता रहे पनि उपकरणको गुणस्तरीयतामा विश्वास गर्न नसकिने बताएका हुन्।
उनले आफैंले किनेको हाते ट्याक्टर बिग्रिएर प्रत्येक वर्ष दश हजार रुपैयाँभन्दा बढी खर्च गर्नुपरेको उल्लेख गर्दै, पचास हजार रुपैयाँमा किनेको मेसिनको मर्मतमा किसानले धेरै खर्च गर्नुपरेको अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिए।
मन्त्री अधिकारीले किसानलाई कृषि उपकरण खरिद गर्दा गुणस्तरमा निश्चिन्त भएर निर्णय लिन आग्रह गरे। साथै कृषि यान्त्रिकीकरणको प्रवर्द्धनमा व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै स्वदेशमै यस्ता उपकरण उत्पादन गर्न व्यवसायीहरूलाई पहल गर्न आह्वान गरे।
उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन, र दीगो कृषि प्रणाली सुनिश्चित गर्न सरकार यान्त्रिकीकरणलाई प्राथमिकता दिँदै अघि बढेको मन्त्री अधिकारीले बताए।
उनले आधुनिक कृषि यन्त्र तथा उपकरणमा अनुदान कार्यक्रम निरन्तर सञ्चालनमा रहेकाले उत्पादन वृद्धि भइरहेको उल्लेख गर्दै, सरकार सरोकार पक्षसँग सहकार्य गर्न तयार रहेको पनि स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस्