कृषिमन्त्री अधिकारीद्वारा डिडिसीको हेटौंडा वितरण आयोजनाको अनुगमन


काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी) अन्तर्गतको हेटौंडा दुग्ध वितरण आयोजनाको अनुगमन तथा निरीक्षण गरेका छन् ।

हेटौंडा औद्योगिक क्षेत्रमा रहेको संस्थानको उत्पादन तथा प्रशोधन केन्द्रको आज बिहान अनुगमन गर्दै मन्त्री अधिकारीले संस्थानलाई माथि उठाउन सबैको प्रयास आवश्यक रहेको बताए । उनले संस्थानका कर्मचारीहरूलाई दत्तचित्त भएर काम गर्न निर्देशन समेत दिए ।

मन्त्री अधिकारीले हाल संस्थानमा मौज्दात रहेका दुग्ध उत्पादनहरूको बिक्रीका लागि मन्त्रालयले विभिन्न प्रयास गरिरहेको जानकारी गराउँदै कर्मचारीहरूले पनि यसमा तदारुकता देखाउन आवश्यक रहेको उल्लेख गरे ।

“संस्थानको घाटा र दुर्बलताले आम कर्मचारीको मनोबल बढ्न सक्दैन। संस्थानलाई सबल बनाउन कर्मचारीहरूको सकारात्मक प्रयास जरुरी छ,” मन्त्री अधिकारीले भने ।