काठमाडौँ । कोशी प्रदेशमा उत्पादित अर्थोडक्स चियाले नेपालमा चिया उद्योगको विकासमा महत्वपूर्ण भूमिका खेलेको पाइएकाे छ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्ययोजना अनुसार ‘कोशी प्रदेशमा उत्पादित अर्थोडक्स चियाले राष्ट्रिय अर्थतन्त्रमा पुऱ्याएको योगदान एवम् आन्तरिक र बाह्य बजारमा यसको सम्भावना र चुनौती’ विषयक अध्ययनले साे विषयलाई पुष्टि गरेको छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको माग बढ्दै जाँदा यसको आर्थिक प्रभाव पनि उल्लेखनीय देखिन्छ। अर्थोडक्स चियाको गुणस्तर, प्राकृतिक स्वाद, र सुगन्धले अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान बनाएको अध्ययनले देखाएको छ । विशेषगरी इलाम, पाँचथर, धनकुटा, तेह्रथुम र संखुवासभा जिल्लाहरूमा ओर्थोडक्स चियाको व्यावसायिक खेती विस्तार भइरहेको छ। तथापि चिया उद्योगले केही चुनौतीहरूको सामना गरिरहनु परिरहेको छ।
अध्ययनका अनुसार कोशी प्रदेशमा हाल १०० वटा अर्थोडक्स चिया प्रशोधन उद्योगहरू सञ्चालनमा छन् । जसमा २१ वटा अर्गानिक सर्टिफाइड र ७९ वटा अर्गानिक अनसर्टिफाइड छन्। आर्थिक वर्ष २०७९/०८० मा ७८ लाख ३८ हजार ९४६ केजी प्रशोधित अर्थोडक्स चिया उत्पादन भएको थियो। कुल उत्पादनमा अर्गानिक सर्टिफाइड चियाको हिस्सा ११.९ प्रतिशत र अनसर्टिफाइड चियाको हिस्सा ८८.१ प्रतिशत रहेको छ।
अध्ययनमा सहभागी ८४ उद्योगमा कुल ३ अर्ब ६८ करोड ७४ लाख रुपैँया लगानी रहेको पाइएको छ जसमध्ये ३६.४ प्रतिशत ऋण र ६३.६ प्रतिशत स्वपूँजी रहेको छ। वैदेशिक लगानी भने दुई उद्योगमा मात्र रहेको छ। त्यस्तै अर्गानिक सर्टिफाइड चियाको आन्तरिक बजार मूल्य प्रति केजी ९४१.६० रुपैँया रहेको छ भने अन्तर्राष्ट्रिय बजार मूल्य ८०१.५१ रुपैँया रहेकाे छ। अनसर्टिफाइड चियाको मूल्य भने आन्तरिक बजारमा ४३३.७१ रुपैँया र अन्तर्राष्ट्रिय बजारमा ४०८.३१ रुपैँया मात्र रहेको छ।
अध्ययनअनुसार कोशी प्रदेशमा प्रशोधित अर्थोडक्स चियाको ८८.६ प्रतिशत निर्यात गरिन्छ भने ११.४ प्रतिशत मात्र आन्तरिक बजारमा खपत हुन्छ र अर्गानिक सर्टिफाइड चियाको २१.६३ प्रतिशत तेस्रो मुलुकमा निर्यात हुने गरेको छ।
आर्थिक वर्ष २०७९/०८० मा उद्योगहरूको कुल बिक्री आय २ अर्ब ५७ करोड ५५ लाख २१ हजार ९१३ रुपैयाँ रहेको छ। यसमध्ये ८६.७२ प्रतिशत आय निर्यातबाट प्राप्त भएको देखिन्छ।उद्योगहरूमा क्षमता उपयोग औसतमा ५६.२१ प्रतिशत मात्र रहेको छ। कच्चा पदार्थको अभाव, विद्युत आपूर्तिमा अनियमितता, दक्ष जनशक्तिको कमी, र बजार मागमा कमी, सर्टिफिकेसन प्रक्रियामा लाग्ने उच्च खर्च, बजारमा प्रतिस्पर्धा र सरकारी अनुदानमा पहुँचको कमीले किसान र उद्योग दुवै प्रभावित भएका छन्।
त्यसैगरि उद्योगहरूको आर्थिक स्थिति विश्लेषण गर्दा अर्गानिक सर्टिफाइड उद्योगको प्रतिफल दर १३.५ प्रतिशत र अनसर्टिफाइड उद्योगको प्रतिफल दर १०.८ प्रतिशत रहेको पाइएको छ। अहिले कोशी प्रदेशका किसानहरूले चियाको मूल्य निर्धारणमा पनि समस्या झेलिरहेका अध्ययनले देखाएकाे छ । भारतको दार्जिलिङ चियासँग प्रतिस्पर्धा गर्न नेपाली चियालाई ब्रान्डिङ र प्रवर्द्धनमा जोड दिनुपर्ने र किसानहरूले आफ्ना उत्पादनहरू प्रत्यक्ष उपभोक्तासम्म पुर्याउन सक्ने सहकारी प्रणाली र डिजिटल मार्केटिङ प्लेटफर्मको विकास गर्नु पनि आवश्यकता अध्ययनले औँल्याएको छ ।
नेपालको ओर्थोडक्स चियाले अन्तर्राष्ट्रियस्तरमा छुट्टै पहिचान बनाउन सफल भए पनि उत्पादन लागत घटाउन र बजार विस्तार गर्न अझै चुनौतीहरू छन्। सरकारी निकाय, सहकारी संस्था, र निजी क्षेत्रबिचको समन्वयमार्फत चिया खेतीलाई थप प्रोत्साहित गर्न सकिन्छ। साथै जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न अनुसन्धानमा लगानी गर्नुका साथै चिया उत्पादकहरूको क्षमता अभिवृद्धि गर्न तालिम तथा प्राविधिक सहयोग आवश्यक देखिन्छ।
कोशी प्रदेशका किसानहरूका अनुसार यदि सरकारी सहयोग र उचित नीति निर्माण भयो भने ओर्थोडक्स चिया उत्पादनबाट व्यापक आर्थिक लाभ लिन सकिनेछ। यसले केवल किसानहरूको जीवनस्तर सुधार गर्न मात्र होइन, नेपालको कृषि निर्यातलाई पनि सशक्त बनाउन मद्दत पुर्याउनेछ।
उत्पादनदेखि निर्यातसम्मका गतिविधिहरूले स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दै आएको अध्ययनले देखाएको छ। यस क्षेत्रका ओर्थोडक्स चिया उत्पादकहरूले जैविक चियाको प्रमाणिकरण प्राप्त गर्न नसक्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न अप्ठ्यारो स्थिति बनेको छ। प्रमाणिकरण प्रक्रिया खर्चिलो र जटिल हुँदा किसानहरूलाई आर्थिक भार पर्ने गरेको छ।
फलस्वरूप उच्च गुणस्तरको चिया उत्पादन गरे पनि तिनलाई उचित मूल्य प्राप्त गर्न समस्या भइरहेको छ। सरकारले सर्टिफिकेसन प्रक्रिया सहज बनाउन, सहुलियतपूर्ण ऋण र अनुदान प्रदान गर्न, र अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको प्रवर्द्धन गर्न सक्ने नीति अवलम्बन गरेमा कोशी प्रदेशको अर्थोडक्स चिया उद्योग अझ बलियो बन्न सक्ने अध्ययनकाे सुझाव छ ।
सरकारबाट उचित नीति तथा अनुदान प्राप्त भएमा कोशी प्रदेशका किसान र उद्योगहरूले अझ राम्रो उत्पादन र निर्यात वृद्धि गर्न सक्नेछन्। चियाको सर्टिफिकेसनलाई सहज बनाउने, साना किसानलाई प्रोत्साहन गर्ने, र बजार पहुँच सुधार्ने योजनाहरू लागू गर्न सकेमा अर्थोडक्स चिया क्षेत्रबाट देशको अर्थतन्त्रमा अझ ठूलो योगदान प्राप्त गर्न सकिने अध्ययनले देखाएकाे छ ।
सरकारले चिया खेतीलाई प्रोत्साहन गर्न केही योजना ल्याए पनि तिनको प्रभावकारिता सीमित देखिएको छ। सहुलियतपूर्ण ऋण, कृषि प्रविधिको हस्तान्तरण, र बजार व्यवस्थापनका लागि दीर्घकालीन नीति आवश्यक रहेको विज्ञहरू बताउँछन्। चिया किसानहरूको क्षमता अभिवृद्धि गर्दै उत्पादनलाई आधुनिकीकरण गर्न सकेमा नेपालको ओर्थोडक्स चियाले अन्तर्राष्ट्रिय बजारमा अझ राम्रो स्थान बनाउन सक्ने सम्भावना छ।
प्रतिक्रिया दिनुहोस्