‘हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर हटाउन माग’


काठमाडाैँ । हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन सांसदहरूले माग गरेका छन् । सोमवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांस्दहरूले यस्तो माग गरेका हुन् ।

हवाई भाडा महंगो भएकै कारण विदेशबाट नेपाल आउन लागेका नेपाली नागरिहरु समेत विदेशी एयरलाइसन्सको प्रयोग गर्न बाध्य रहेको उनीहरूको भनाइ छ । बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद उदय समशेर जबराले नेपाल आउन महंगो हुने तर यहाँ आइसकेपछि सस्तो हुने भएको कारण पर्यटकहरूमा समेत नकारात्मक प्रभाव पर्ने बताए ।

पर्यटकलाई नेपाल आउन सस्तो गर्न सकेको अवस्थामा नेपाल आएर महंगो खर्च गर्नसक्ने उनको विश्लेषण छ । उनले अमेरिका, थाइल्याण्ड लगायतका मुलुकहरुमा हवाई भाडा सस्तो र त्यहाँ हुने खर्च महँगो रहेको उल्लेख गर्दै नेपालमा ठिक उल्टो भइरहेको बताए । उनले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा एयर फेयरसम्बन्धी नीति र करको विषयलाई सम्बोधन गर्न आग्रह गरे ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विमानस्थल भन्सार कार्यालयहरू ८\१० जना भन्सार एजेन्को कब्जामा रहेको टिप्पणी गरे । उनले ७ सय बढी भन्सार एजेन्टहरू रहेको अवस्थामा देशभरका विमानस्थलहरूमा ८/१० जना एजेन्टले मात्र चलाइरहेको बताए ।उनले विदेशमा बसेर समेत नेपालमा विमानस्थल भन्सार कार्यालय कब्जा गरिएको उल्लेख गर्दै मन्त्रालयको मिलोमतोमा त होइन ? भन्दै प्रश्न गरे । भन्सार एजेन्टको उचित व्यवस्थापनको लागि उहाँले मन्त्रालयको ध्यानाकर्षण समेत गराए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पुँजीगत खर्च बढाउनुपर्ने बताए । उनले आर्थिक वर्ष सकिन ४ महिना मात्रै बाँकी रहँदा समेत १५ प्रतिशत मात्रै पुँजीगत खर्च हुनु चिन्ताजनक विषय रहेको बताए ।उनले निजगढ विमानस्थलमा किन प्रगति भएन ? भन्दै प्रश्न समेत गरे ।उनले सरकारले प्राथमितका साथ काम गरिरहेको भनेको निजगढ विमानस्थलको प्रगति शुन्य जस्तै भएको तर्क गरे । उनले नेपाल आउने पर्यटकको तथ्यांक मन्त्रालयले देखाएको तथ्यांकसँग मेल नखाने समेत बताए । उनले गैरआवासीय नेपाली नागरिकलाई समेत पर्यटकको संख्यामा गणना गर्दा समस्या भएको बताए ।

नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले जनकपुर विमानस्थलाई स्तरोन्नति गर्न माग गरे । उनले मुलक संघीय प्रणालीमा गइसकेपछि सबै प्रदेशमा क्षेत्रीय विमानस्थलहरु घोषणा गरिएपनि मधेश प्रदेशको राजधानीमा रहेको जनकुपुर विमानस्थलको काम हुननसकेको बताए ।

समितिको सोमवारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको कार्य प्रगति एवं अगामि आर्थिक वर्षको योजना, रणनीति एवं कार्यक्रमको बारेमा छलफल भएको छ ।