काठमाडौँ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले साेमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग भेट गरी उद्योग व्यवसाय प्रवर्धनका विभिन्न विषयमा छलफल गरेको छ।
भेटघाटका क्रममा अध्यक्ष चौधरीले भारतीय मालवाहक साधनहरूको निर्वाध प्रवेशले नेपाली व्यवसायलाई असर पुर्याएको भन्दै सरकारले उद्योग व्यवसायलाई हेर्ने दृष्टिकोण अझै सकारात्मक हुन नसकेको बताए। उनले नेपालकै उत्पादनलाई प्राथमिकता दिने वातावरण आवश्यक रहेको उल्लेख गर्दै, लुब्रिकेन्ट्स उद्योगका नाममा नेपालमा फिनिस्ड गुड्स आयात र वितरण भइरहेको भन्दै यसलाई रोक्नुपर्ने धारणा राखे।
त्यस्तै नेपालमै टायर उद्योग खोल्ने सम्भावना रहे पनि आवश्यक मापदण्डको व्यवस्था नभएकाले चुनौती रहेको चौधरीको भनाइ थियो। उनले बुट मोडेलमा बाह्य लगानी भित्र्याउन सकिने सुझाव दिंदै नेपालमै उद्योग सञ्चालन गरेर आयआर्जन गर्ने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरे।
नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सवारी साधन आयातकर्ताहरूका लागि एजेन्सी दर्ता सम्बन्धी ऐन अहिलेसम्म पारित नभएकोमा गुनासो गर्दै उक्त ऐन छिटो पारित गर्न अनुरोध गरे। महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालका ब्याट्री उद्योगहरूको अवस्था तथा गोरखकाली रबर उद्योग पुनः सञ्चालनको सम्भावना बारे जानकारी गराउँदै उक्त उद्योगलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी विशेष आर्थिक क्षेत्रका रूपमा विकास गर्न सकिने सुझाव दिए।
मन्त्री भण्डारीले नेपालको उद्योग व्यवसायसम्बन्धी जानकारी बिना नै संसद्मा प्रश्न उठ्ने गरेको उल्लेख गर्दै नेपाल सरकारले खुला बजार अर्थनीति अपनाइरहेको बताए। खुला बजार अर्थतन्त्रमा ७०० प्रतिशतसम्म मुनाफा गर्न सकिने भन्दै नाडाका सुझावहरू राजस्व परामर्श समितिमा पठाइने आश्वासन दिए।
एजेन्सी दर्ता सम्बन्धी ऐन छिट्टै पारित हुने बताउँदै मन्त्री भण्डारीले नेपालमा उद्योग व्यवसाय प्रवर्द्धनका लागि उचित वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए।
सो अवसरमा वाणिज्य सचिव गोविन्द कार्की, उद्योग सचिव कृष्णबहादुर रावत, निजी सचिव सुमन धिताल, स्वकीय सचिव आनन्दप्रसाद भट्ट तथा नाडाका सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल र एसोसिएसन सचिव सुरेन्द्र प्रधानको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्